लिङ्देनमाथि संगीन आरोप लगाउँदै राप्रपा मुख्यालय कार्यालय खाली गर्न राजभण्डारीको पत्र

हिमाल प्रेस ४ असार २०८३ १२:०८ | Thursday, June 18, 2026
82
SHARES
लिङ्देनमाथि संगीन आरोप लगाउँदै राप्रपा मुख्यालय कार्यालय खाली गर्न राजभण्डारीको पत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को किचलोले अहिले पार्टी विभाजन भएको छ। धवलशमशेर राणासहितका नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमाथि अनेक प्रश्न उठाउँदै राप्रपा छाडेका छन्। आन्तरिक खटपटले राप्रपा छाड्ने क्रम जारी छ। नेताहरूले लिङ्देनमाथि अनेक आरोप लगाउँदै गाली गरिरहेका छन्।

लिङ्देनमाथि कसैले भ्रष्टाचार गरेको त कसैले एजेन्डा मुताबिक काम नगरेको आरोप लगाइरहेका छन्। यत्तिकैमा राप्रपाका पुराना नेता दिलविकास राजभण्डारीले लिङ्देनमाथि काठमाडौंमा घर बनाएको, इलाममा रिसोर्ट खोलेको र अमेरिकामा घर किनेकोले त्यसको स्रोत के हो खोजेका छन्।

‘तपाईंमाथि गाडी चोरीको आरोप पनि छ। अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वभाविक हो। तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार बेहोर्नुपरेको हो,’ उनको भनाइ छ।

साथै २०७९ को चुनावमा अध्यक्ष लिङ्देन र कोषाध्यक्षले आफूसँग ४५ लाख लगेको र त्यसमध्ये १० लाखमात्रै फिर्ता गरेको उनको भनाइ छ। ‘२०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम ४५ लाखमध्ये १० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत् फिर्ता गर्नुभयो। बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरून्त फिर्ता दिनुहोस्। के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको हो? यस्तो गर्नु आमाको रगत खाए सरह होइन र?’ उनको प्रश्न छ।

साथै उनले अध्यक्ष लिङ्देनलाई धुम्बाराहीस्थित केन्द्रीय कार्यालय रहेको घर खाली गरिदिन पनि आग्रह गरेका छन्। राप्रपाले भने यी आरोपहरूको खण्डन गरिसकेको छैन। राप्रपाका एक पदाधिकारीले पार्टी छाडेर गइसकेकाहरूले लगाएका ‘यस्ता आरोपहरूको पछि लाग्न नहुनेु प्रतिक्रिया दिए।

यस्तो छ पत्र

प्रकाशित: ४ असार २०८३ १२:०८ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast