संसद्‌मा पक्षपात भएको भन्दै हर्क साम्पाङको आपत्ति, नियम पालनाको आफ्नै तर्क

हिमाल प्रेस २८ जेठ २०८३ १०:५१ | Thursday, June 11, 2026
8
SHARES
संसद्‌मा पक्षपात भएको भन्दै हर्क साम्पाङको आपत्ति, नियम पालनाको आफ्नै तर्क

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले संसद्‌भित्र सभामुखबाट पक्षपातपूर्ण व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै सांसद राईले संसद्‌को मर्यादा र गरिमा खस्कँदै गएको बताए।

जेठ २७ गतेको बैठकमा प्रधानमन्त्रीले नेपाल-भारत सीमा विवादका विषयमा दिएको एक अभिव्यक्तिप्रति परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिने क्रममा श्रम संस्कृति पार्टीले असहमति र विरोध जनाएको थियो।

सोही विषयमा अन्य प्रतिपक्षी दलका नेताहरूलाई रोस्ट्रम प्रयोग गरेर बोल्ने अनुमति दिइए पनि आफ्नो पार्टीलाई बोल्न नदिएर सभामुखले पक्षपात गरेको दाबी विज्ञप्तिमा गरिएको छ।

सभामुखले सरकारको गल्ती ढाकछोप गर्न खोजेको र प्रतिनिधि सभा सञ्चालन नियम २१० विपरीत विभेदकारी व्यवहार गरेको भन्दै अध्यक्ष राईले यसलाई ‘लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक’ को संज्ञा दिएका छन्।

संसद्‌को नियम १५-२, ४-१ का साथै संविधानका धारा ७५-१, ७७-१-ग, र ७६-१० को उल्लंघन भइरहेको दाबी गर्दै अविलम्ब गल्तीहरू सच्याउन सरकार र सभामुखसँग माग गरिएको छ। यद्यपि संसद्को बैठकमा आकस्मिक वा विशेष समयमा बोल्नका लागि सांसद वा सम्बन्धित दलले पहिल्यै कार्यव्यवस्था परामर्श समिति वा सभामुखको कार्यकक्षमा समय माग गर्नुपर्ने कानुनी प्रावधान रहिआएको छ।

संसद्को नियम अनुसार समय माग नगरी वा कार्यसूची तय नभई सभामुखले कुनै पनि सांसदलाई स्वतः वा आकस्मिक रूपमा रोस्ट्रममा बोलाउने व्यवस्था हुँदैन। श्रम संस्कृति पार्टीले बोल्नका लागि पूर्वसहमति वा समय माग गर्ने प्रक्रिया पूरा नगरेको थिएन्।

प्रकाशित: २८ जेठ २०८३ १०:५१ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast