काठमाडौँ- पाकिस्तानका रक्षामन्त्री आसिफ ख्वाजाले आफ्नो पूर्वज हिन्दू रहेको बताएका छन्। रक्षामन्त्री ख्वाजाको यो साहसिक स्विकारोक्तिले पाकिस्तानको राजनीतिकवृत्तमा तरंग ल्याएको छ।
‘मेरो पूर्वज हिन्दू थिए’ पाकिस्तानको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भने। त्यतिमात्रै नभएर उनका अनुसार पाकिस्तानी बालबालिकालाई गलत इतिहास पढाइँदै आएको छ। पाठ्यपुस्तकबाट चन्द्रगुप्त मौर्य, अशोक जस्ता प्राचीन शासकहरूको इतिहास हटाइएको र पूर्वजहरूलाई विदेशी वंश देखाउने प्रवृत्तिलाई पनि उनले प्रश्न गरेका थिए।
उनकाे यो भनाइ व्यक्तिगतमात्र होइन, पाकिस्तानको राष्ट्रिय कथनमाथिको गम्भीर प्रश्न थियो। पाकिस्तानले आफूलाई ‘हिन्दू भारत’ को विरोधमा इस्लामिक राष्ट्रका रूपमा भारतभन्दा अघिल्लो दिन खडा भएकाे बताउँदै आएको छ। बेलायतले भारत छाड्दै गर्दा यो निर्णय लिइएको थियो । ख्वाजाले पाकिस्तानमा धर्म फरक भए पनि पूर्वज उही रहेको बताए। उनको यो भनाइपछि दक्षिण एसिया तरंगित छ। उनको याे फरकखाले अभिव्यक्तिबाट अनेक समाचारहरु बनिरहेका छन्।
भारतीय उपमहाद्वीपको साझा सभ्यता, संस्कृति र वंशावलीबाट आएका अधिकांश पाकिस्तानीहरूको जड यही भूमिमा रहेको यथार्थ पनि हो। भारतीय सञ्चारमाध्यममात्र होइन अन्य सञ्चारमाध्यममा पनि उनको यो धारणा साझा भइरहेको छ। हिन्दू, बौद्ध, सिख र सूफी परम्पराले बनाएको यो भूगोललाई पछि धार्मिक राष्ट्रवादले पुनर्लेखन गरेकाे आरोप पनि उनको छ।
रक्षामन्त्री आसिफको भनाइले पाकिस्तानले दशकौंदेखि निर्माण गरेको वैचारिक संरचनामा फाटो देखाएको छ। यसअघि पनि ख्वाजा आसिफले पाकिस्तानले तीस वर्षसम्म अमेरिका र पश्चिमी देशहरूका लागि ‘गलत काम’ गरेको स्वीकार गरेका थिए। उनले आतंकवादी समूहहरूलाई प्रशिक्षण र संरक्षण दिने कामलाई पश्चिमी एजेन्डाको अंश भनेर निकै चर्चा बटुलेका थिए।
यो स्वीकारोक्तिले भारतसँगको सम्बन्धमा पाकिस्तानको भूमिकालाई थप उजागर गर्छ। भारतले बारम्बार पाकिस्तानलाई आतंकवादको केन्द्र भनेको छ। पहलगाम जस्ता आक्रमणहरूमा लश्कर ए तैयबाको संलग्नता देखिनु र पाकिस्तानी संरचनासँग जोडिनुले यो द्वन्द्वलाई गहिरो बनाएको छ।
अर्कोतिर कट्टरपन्थी शक्तिहरू अझै सक्रिय छन्। लश्कर ए तैयबाका उपप्रमुख सैफुल्लाह कसुरीले इजरायलविरुद्ध उग्र भाषण दिँदै मुस्लिम देशहरूलाई चेतावनी दिएका छन्। उनले इजरायलसँग सम्बन्ध राख्ने नेतृत्वलाई ‘विनाश’ को धम्की दिएका छन्। कसुरीलाई भारतीय सुरक्षा एजेन्सीहरूले पहलगाम आक्रमणको मुख्य योजनाकार बताउँदै आएका छन्।
यो भाषण केवल धार्मिक होइन, पाकिस्तानको सुरक्षा संरचना र जिहादी नेटवर्कबीचको गहिरो सम्बन्धको संकेत हो। अमेरिकाको भूमिका यहाँ जटिल छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशहरूलाई इजरायलसँग सम्बन्ध सामान्य बनाउन आग्रह गरेका छन्। अब्राहम एकोर्ड्स अन्तर्गत पाकिस्तानलाई पनि सामेल हुन दबाब छ।
एकातिर पाकिस्तान अमेरिका, खाडी मुलुक र विश्व समुदायसँग सन्तुलन खोजिरहेको छ भने अर्कोतिर घरभित्रै इजरायल विरोधी अतिवादी भाषण खुला रूपमा भइरहेका छन्। यो विरोधाभासले पाकिस्तानको विदेश नीतिलाई कमजोर बनाएको छ। भारत-पाकिस्तान सम्बन्धमा यो संकटको प्रभाव प्रत्यक्ष रहेकाे देखिन्छ।
सीमापारी आतंकवाद, कश्मीर मुद्दा र हालका द्वन्द्वहरूले दुई देशबीचको विश्वास घटाएको छ। पाकिस्तानले आतंकवादी समूहहरूलाई रणनीतिक हतियारका रूपमा प्रयोग गरेको आरोप लागिरहेको छ। ख्वाजा आसिफको ‘गलत काम’ स्वीकारोक्तिले यो आरोपलाई बल पुर्याउँछ। यदि पाकिस्तानले आतंकवादलाई पूर्ण रूपमा त्यागेन भने भारतसँगको शान्ति वार्ता र सहयोगको बाटो सधैँ अवरुद्ध रहनेछ। जसका कारण यो क्षेत्रकाे संगठन सार्क समेत बन्देज बनेको छ। यसकाे प्रक्रिया अघि बढ्न सकेको छैन्।
पाकिस्तानभित्र पनि आन्तरिक द्वन्द्व रहेकाे स्पष्ट पार्छ। एउटा पक्षले इतिहाससँग मेल खाने आत्मसमीक्षा गरिरहेको छ भने अर्को पक्षले पुरानै कट्टर वैचारिक मार्गमा हिँडिरहेको बुझ्न सकिन्छ। निर्वाचित नेतृत्व, सेना, धार्मिक समूह र जिहादी नेटवर्कबीचको शक्ति सन्तुलन अझै अस्पष्ट छ। पाकिस्तानले आफ्नो पहिचानलाई आधुनिक, बहुलवादी र यथार्थपरक बनाउन सकेन भने ऊ सधैं सुरक्षा राज्य र वैचारिक युद्धको चक्रमा फसिरहनेछ।
अमेरिकाको दबाब, भारतसँगको तनाव र घरेलु कट्टरताले पाकिस्तानलाई चुनौती दिइरहेका छन्। रक्षा मन्त्री आसिफको स्वीकारोक्तिले आशा जगाए पनि कसुरीजस्ता तत्त्वहरूले चुनौती थपेका छन्। यो परिस्थिति पाकिस्तानका लागि आत्मचिन्तनको मौका हो। इतिहासको जड सम्झिएर, आतंकवादको छायाबाट मुक्त भएर र छिमेकीसँग शान्तिपूर्ण सम्बन्ध बनाएर मात्र ऊ स्थिर र समृद्ध बन्न सक्छ। दुई विपरीत दिशामा तानिएको यो देशले अब सही बाटो छान्नुपर्ने समय आएको छ।




