राहतमा दिने भन्दै आफ्नो खातामा रकम हाल्न लगाउने युवक। तस्बिर : प्रहरी।
काठमाडौँ- भोटेकोशीमा आएको बाढीले धेरै जनधनको क्षति पुर्याउँदा देश नै अहिले शोकमा छ। झन्डै हजार जनाको बाढीकै कारण निधन भएको छ भने ४ हजार हाराहारी बेपत्ता छन्। यही मौकामा चोरी, लुटपाट र ठगीजस्ता अराजक गतिविधि गर्ने बढेका छन्। विभिन्न ठाउँमा विपतको मौका छोपेर लुटपाट गर्नेलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा घेरा कसिलो बनाएको छ।
नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले अनुसन्धानले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। विपद्को समयमा पीडितमाथि हुने यस्ता लुटपाट र अमानवीय गतिविधि कुनै पनि हालतमा सह्य नहुने प्रहरीले जनाएको छ।
बाढीले बगाएर धादिङको गल्छी ४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला ल्याएका बैंकका पैसा राख्ने सेफ तोडेर नगद रकम हिनामिना २९ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ।
बाढीका पीडितहरूका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत रकम असुल गर्न खोज्ने रामेछाप गोकुलगंगा २, ठोसे बजार बस्ने ३२ वर्षीय सृजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
गल्छी ६ बैरेनी बजारस्थित सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइ भएको बन्द सेफ फेला परेको छ। जसलाई प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। परेवाटार मलेखु त्रिशूली नदीको बगरमा पनि नफोडेको अवस्थामा अर्को एउटा सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास जारी छ।


