नेपाल र साउदी अरेबियाबीच लगानी विस्तार गर्न छलफल

हिमाल प्रेस १४ जेठ २०८३ १५:४८ | Thursday, May 28, 2026
2
SHARE
नेपाल र साउदी अरेबियाबीच लगानी विस्तार गर्न छलफल

काठमाडौँ- नेपाल र साउदी अरबबीच द्विपक्षीय आर्थिक सम्बन्ध, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा नेपाली श्रमिकहरूको सुरक्षाका विषयमा बृहत् छलफल भएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्म्द ए.मनिकरबीच मंगलबार चेम्बर सचिववालयमा छलफल भएको हो।

भेटका क्रममा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालको अर्थतन्त्रका लागि वैदेशिक रोजगारी, रेमिट्यान्स र लगानीका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे।

हाल दुई देशबीच करिब १० मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भइरहेको छ, जसमा नेपालले ९ मिलियन डलरको आयात र १ मिलियन डलर बराबरको निर्यात गर्दै आएको छ।

अध्यक्ष अग्रवालले दुई देशबीचको सम्बन्ध श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन र आर्थिक विकासका अन्य क्षेत्रमा समेत विस्तार हुनुपर्नेमा जोड दिए।

नेपालमा स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको भन्दै उनले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी र सूचना प्रविधिजस्ता सम्भावित क्षेत्रमा साउदी लगानी भित्र्याउन आग्रह गरे।

उनले साउदी अरेबियाको भिजन २०३० कार्यक्रमले नेपालका लागि नयाँ अवसरहरू सिर्जना गरेको बताए।

राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी र आर्थिक साझेदारीका लागि तीव्र रुपमा खुला हुँदै गएको जानकारी दिए। साउदी अरबमा पछिल्लो समय अन्तर्राष्ट्रिय कम्पनीहरू भित्रिने क्रम बढेको र वैदेशिक लगानी आकर्षित भइरहेको उनको भनाइ थियो।

उनले आगामी दिनमा साउदी अरबले आयोजना गर्न लागेको विश्वस्तरीय कार्यक्रमहरूले सहकार्यका नयाँ ढोका खोल्ने बताए।

भेटका क्रममा सुरक्षा र कूटनीतिका साथै पश्चिम एसियाको वर्तमान विकसित परिस्थितबारे समेत छलफल भएको थियो। दुवै पक्षले साउदीमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितका विषयमा विशेष चासो व्यक्त गरेका थिए।

प्रकाशित: १४ जेठ २०८३ १५:४८ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast