काठमाडौँ- नेकपा एमालेमा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठिरहेको छ। जारी पदाधिकारी बैठकमा पनि अधिकांशले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन्। नेताहरूका अनुसार एमालेको भविष्य निर्माणका लागि पनि ओलीले राजीनामा दिनुपर्ने हुन्छ। यही रस्साकस्सी चलिरहेका बेला ओलीको राजीनामा माग्ने क्रम भ्रातृ र जनवर्गीय संगठनमा पनि पुगेको छ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा पनि अहिले ओलीले राजीनामा दिनुपर्ने माग चल्न थालेको छ। विद्यार्थी नेताहरूका अनुसार शुक्रबार बसेको अखिलको बैठकमा १९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३४ जना मात्र उपस्थित भएपछि गणपूरक संख्य (कोरम) नपुगेको भन्दै नेताहरूले आपत्ति जनाएका थिए।
बैठकमा उपमहासचिव कमल जोशीले संगठनमा मातृ पार्टी एमालेको अनावश्यक हस्तक्षेप बढेको भन्दै हस्तक्षेपमुक्त संगठन बनाउनुपर्ने बताएका थिए। जोशीले अनेरास्ववियुलाई कि त पार्टीबाट पूर्ण रूपमा अलग गर्नुपर्ने, कि पार्टीको मूल नेतृत्व र नीतिका बारेमा देशभर संस्थागत बहस चलाउनुपर्ने प्रस्ताव राखेको छन्।
बैठकमा उपस्थित नेताहरूले चुनाव लडिसकेका वर्तमान अध्यक्ष दीपक धामीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। उनलाई विद्यार्थी संगठनको नेतृत्व छाडी मूल पार्टीको राजनीतिमा सक्रिय हुन र युवा नेतृत्वका लागि मार्ग प्रशस्त गर्न नैतिक सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।




