काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढीको जोखिम कायमै रहेको जनाएको छ।
मनसुन अवधिमा कम बर्षा भइ लामो समयसम्म खडेरी लाग्दा एक्कासी वर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै रहेको विभागले जनाएको हो।
विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिइन्। प्रवक्ता पोखरेलले मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुदै गएको बताइन्।
यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ।




