पुरातत्व विभागले भन्यो – बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्

हिमाल प्रेस १९ वैशाख २०८३ १९:२२ | Saturday, May 2, 2026
22
SHARES
पुरातत्व विभागले भन्यो – बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्

काठमाडौँ– काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको पुरातत्व विभागले स्पष्ट पारेको छ।

बल्खु क्षेत्रस्थित सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङले बताएका छन्।

विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका संरचनामात्र संरक्षण गर्दै आएको जानकारी दिँदै उनले भने, ‘दशदेखि १५ वर्षअघि निर्माण भएका नयाँ वा निजी संरचनालाई विभागले संरक्षण गर्दैन। त्यो हाम्रो दायित्वभित्र पर्दैन।’

महानिर्देशक प्रधानाङले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनका क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताए। त्यहाँ दुईवटा मूर्ति र एउटा आकारविहीन शिला भेटिएको थियो।

‘सिमेन्टले ढलान गरिएको नयाँ संरचना थियो, पुरानो कुनै संरचनात्मक विशेषता देखिएन,’ उनले भने, ‘ती मूर्ति करिब १०–१५ वर्ष पुराना हुनुपर्छ, पुरातात्त्विक महत्वका वस्तु भेटिएनन्। स्थानीय व्यक्तिले नै ती मूर्तिको स्वामित्व दाबी गरेपछि विभागले त्यसलाई आफ्नो संरक्षणमा लिएन।’

केही समययता बस्ती विस्तारसँगै सामाजिक एकता वा पहिचानका लागि नयाँ मन्दिर तथा धार्मिक संरचना निर्माण गर्ने चलन बढेको उनले बताए।

‘विशेषगरी सुकुम्बासी बस्तीमा बनेका यस्ता संरचना धेरैजसो नयाँ छन्,’ उनले भने, ‘कहिलेकाहीँ जमिनमा स्वामित्व दाबी मजबुत बनाउन पनि यस्ता संरचना बनाउने प्रवृत्ति देखिन्छ।’

बागमती किनारका प्राचीन मन्दिरहरूको उदाहरण दिँदै उनले ती संरचना व्यवस्थित रूपमा निर्माण गरिएका, गुठी राखिएका र ऐतिहासिक अभिलेखसहित समाजसँग जोडिएका बताए।

प्रकाशित: १९ वैशाख २०८३ १९:२२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast