काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपालसामु जितका लागि ३०६ रनको चुनौती प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो।
ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रन बनाए। उनले ७३ बलमै १३ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका थिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) करिअरको पाँचौं तथा नेपालविरुद्ध दोस्रो शतक हो।
ओमानका लागि आशिष ओडेडाराले ४८ रन जोडे भने आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रनको योगदान दिए।
नेपालका बलरमध्ये सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट हात पारे।




