माली- मालीका सैन्य स्थलहरुमा भएको आक्रमणमा परी मालीका रक्षा मन्त्री जनरल सादियो क्यामाराको मृत्यु भएको छ । सरकारका प्रवक्ता इस्सा उस्माने कुलीबालीले यस घटनाको पुष्टि गर्नुभएको अल जजीराले उल्लेख गरेको छ ।
सरकारी प्रवक्ता कुलीबालीका अनुसार शनिबार भएको आक्रमणमा क्यामाराको निवासलाई लक्षित गरी आक्रमणकारीहरूले हमला गरेका थिए, हमलामा रक्षा मन्त्री सालियोको मृत्यु भएको हो ।
राजधानी बामाको नजिकै रहेको अत्यन्तै सुरक्षीत सैन्य सहर काटीस्थित क्यामाराको निवासमा अल–कायदा सम्बद्ध समूह र टुआरेग विद्रोहीहरूले एकैसाथ आक्रमण गरेका थिए ।
क्यामारा सन् २०२० र २०२१ मा भएका लगातार सैन्य ‘कू’ पछि सत्तामा आएको सैन्य सरकारका प्रमुख पात्रमध्ये एक थिए। उनलाई शासन प्रणालीभित्र अत्यन्त प्रभावशाली व्यक्तित्वका रूपमा लिइन्थ्यो र केहीले उहाँलाई भविष्यका सम्भावित नेताका रूपमा पनि हेर्ने गरेका थिए ।
अल जजिराका संवाददाता निकोलस ह्याकका अनुसार आक्रमणकारीहरूले काटीस्थित क्यामाराको निवासमा आत्मघाती कार बम आक्रमण गरेका थिए । काटी राजधानी बामाकोबाट करिब १५ किलोमिटर उत्तर–पश्चिममा रहेको कडा सुरक्षायुक्त सैन्य सहर हो, जहाँ अन्तरिम राष्ट्रपति असिमी गोइता पनि बसोबास गर्छन् ।
आक्रमणमा क्यामाराकी दोस्रो पत्नी र उहाँका दुई नातिनातिनाको पनि मृत्यु भएको एएफपी समाचार संस्थाले जनाएको छ । ह्याकका अनुसार अत्यन्तै सुरक्षित मानिने काटी क्षेत्रमा समेत अल–कायदा सम्बद्ध जमाअत नुसरत अल–इस्लाम वल–मुस्लिमिन र टुआरेग लिबरेशन फ्रन्टका लडाकुहरूले संयुक्त रूपमा आक्रमण गर्न सफल भएका थिए । यसैबिच, अन्तरिम राष्ट्रपति असिमी गोइता सुरक्षित स्थानमा सुरक्षित रहेको पनि जनाइएको छ ।




