काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशभरका कारागारमा भइरहेको बेथिति र भ्रष्टाचारबारे छानबिन गर्न माग गरेको छ। नेविसंघका पदाधिकारीहरूले बुधबार कारागार विभागलाई ध्यानाकर्षणपत्र बुझाउँदै कारागारभित्रका भ्रष्टाचार र बेथिति छानबिन गर्न माग गरेको हो।
नेविसंघको केन्द्रीय समितिले देशभरका कारागारहरूमा चरम बेथिति, अनियमितता र भ्रष्टाचार रहेको आरोप लगाएको छ।
नेविसंघका केन्द्रीय सदस्य बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्रालयअन्तर्गत रहेका कारागारहरूमा कैदीबन्दीहरूको आधारभूत अधिकारसमेत हनन हुने गरी विभिन्न अनियमितता भइरहेको भन्दै विभागका महानिर्देशकसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा काठमाडौँस्थित जगन्नाथ देवल कारागारसहित विभिन्न जेलमा कैदीबन्दीहरूबाट अनावश्यक रूपमा आर्थिक असुली गर्ने, औषधि उपचारमा लापारवाही, मानसिक रोगी तथा बिरामी कैदीबन्दीहरूको रकम हिनामिना गर्ने, बन्दीहरूको उचित व्यवस्थापनमा कमजोरी र नाइके सहनाइके चयन प्रक्रियामा समेत आर्थिक चलखेल भइरहेको आरोप लगाइएको छ।
नेविकसंघले यस्ता गतिविधिमा संलग्न कर्मचारीहरूलाई तत्काल कारबाहीको दायरमा ल्याउन, सम्बन्धित कर्मचारीहरूको बैंक खाता छानबिन गर्न तथा निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। साथै दोषीलाई कानुनअनुसार कारबाही गर्न नेविसंघले माग गरेको छ।
त्यसैगरी कारागार ऐन २०७९ बमोजिम गम्भीर फौजदारी अभियोग लागेका कैदीबन्दीलाई चौकीदार, नाइके वा सहनाइके नबनाउन पनि नेविसंघले माग गरेको छ। कैदीबन्दीबाट नाइके सहनाइके बनाइदिने भन्दै असुली गरिएको रकम तत्काल फिर्ता गर्नुपर्ने मागसमेत नेविसंघले अघि सारेको छ।
ध्यानाकर्षण बुझाउँदै सीटीईभीटी नेविसंघका केन्द्रीय अध्यक्ष कुम्भराज देउवाले देशभरका कैदीबन्दीको रसदपानी खर्च र औषधि उपचारको खर्चमा समेत गिद्धेनजर लगाउने भ्रष्टहरूलाई कानुनी कारबाही नभए नेविसंघले उचित कारबाही गर्ने चेतावनी दिए।




