मुम्बई- भारतमा रहेका प्रवासी नेपाली व्यवसायी नेपालमा लगानी विस्तार र आर्थिक सहकार्य बढाउने तयारीमा सक्रिय देखिएका छन्।
एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआई) मुम्बई शाखाले थाणेमा आयोजना गरेको ‘इन्डो-नेपाल बिजनेस ट्रेड तथा ट्रेड प्रमोशन इनिसिएटिभ’ कार्यक्रममा सहभागीहरूले नेपालमा लगानीका सम्भावनालाई व्यवहारमा उतार्नेमा जोड दिएका छन्।
कार्यक्रममा व्यवसायीले नेपालमा पछिल्लो राजनीतिक स्थिरतासँगै लगानीका लागि वातावरण क्रमशः सहज बन्दै गएको धारणा राख्दै जलविद्युत, पर्यटन, कृषि, जडीबुटी र सूचना प्रविधि क्षेत्रमा विशेष सम्भावना रहेको बताएका थिए।
उनीहरूले नेपाल-भारतबीचको व्यापार र आर्थिक सहकार्यलाई थप विस्तार गर्न निजी क्षेत्रबीचको समन्वय र नेटवर्क बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।
इसीसीआईका केन्द्रीय अध्यक्ष युवराज बरालले नेपाल र भारतबीच लगानी विस्तारका लागि संस्थाले सेतुको भूमिका खेल्ने बताए।
उनका अनुसार लगानीका सम्भावना, प्रक्रिया र क्षेत्रगत अवसरबारे अध्ययनलाई तीव्र बनाइएको छ। भारतका विभिन्न राज्यहरूमा नेपाली भाषीहरूको उपस्थिति पनि आर्थिक सहकार्य विस्तारका लागि उपयोगी आधार बन्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा इसीसीआई मुम्बई शाखाका संस्थापक तथा संरक्षक राजकुमार बरालले प्रवासमा रहेका नेपाली व्यवसायीबीच सहकार्य र एकता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमकै क्रममा महाराष्ट्र शाखाले सुनील बराल नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ। उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
संस्थाका अन्तर्राष्ट्रिय संयोजक मनोज कोटलले नेपाल-भारतबीचको ऐतिहासिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन प्रवासी व्यवसायीको सञ्जाल उपयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै उपाध्यक्ष भरत कृष्ण रावलले भाषा र संस्कृतिको संरक्षणसँगै आर्थिक सहकार्यलाई अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा अशोक गोयल लगायत उद्योग क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने इसीसीआईका मध्यप्रदेश र गुजरात शाखाका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा भारतका लागि नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले पनि धारणा राखेका थिए।




