अमेरिकी–इजरायली आक्रमणपछि तेहरानमा क्षतिग्रस्त आवासीय भवनमा उद्धारकार्यमा जुटेको टोली। तस्बिर : एपी/रासस
काठमाडौँ- रूसले इरानलाई ड्रोन, औषधि र खाद्यान्नको चरणबद्ध आपूर्ति गरेको छ। मस्कोले आफ्नो संकटग्रस्त साझेदारलाई युद्ध जारी राख्न सहयोग गरिरहेको समाचार पश्चिमी गुप्तचर प्रतिवेदनलाई उधृत गर्दै फाइनान्सियल टाइम्सले प्रकाशित गरेको हो।
गुप्तचर सूचनाबारे जानकारी पाएका दुई अधिकारीका अनुसार इजरायल र अमेरिकाले तेहरानमा आक्रमण गरेको केही दिनमै वरिष्ठ इरानी र रुसी अधिकारीहरूले गोप्य रूपमा ड्रोन आपूर्तिबारे छलफल सुरु गरेका थिए। आपूर्ति प्रक्रियाको थालनी मार्चको प्रारम्भमा भएको थियो।
यस विषयमा जानकार व्यक्तिहरूका अनुसार रूसको तेहरानसँग निकट सम्बन्ध छ। उसले आफ्ना सहयोगीलाई उपग्रह तस्बिर, लक्ष्य निर्धारणसम्बन्धी डाटा र गुप्तचर सहयोगसहित महत्त्वपूर्ण समर्थन उपलब्ध गराएको छ।
युद्ध सुरु भएयता रूसले इरानलाई प्राणघातक सहयोग दिन इच्छुक रहेको पहिलो प्रमाण हुन सक्ने बताइएको छ। मस्कोले इरानलाई ड्रोन पठाइरहेको भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘अहिले धेरै झुटा समाचार फैलिरहेका छन्। एउटा के सत्य हो भने हामी इरानी नेतृत्वसँगको संवादलाई निरन्तरता दिइरहेका छौँ।’
एक वरिष्ठ पश्चिमी अधिकारीका अनुसार मस्कोले इरानको युद्ध क्षमता मात्र सुदृढ गर्न होइन, तेहरानको शासनको व्यापक राजनीतिक स्थायित्वलाई समेत समर्थन गर्न हस्तक्षेप गरिरहेको छ।
मस्कोले द्वन्द्व सुरु भएयता सार्वजनिक रूपमा भने मानवीय सहायता उपलब्ध गराइरहेकोमा जोड दिएको छ। गत साता उसले अजरबैजानमार्फत १३ टनभन्दा बढी औषधि इरान पठाएको र आपूर्ति जारी राख्ने योजना रहेको जनाएको थियो।
इरानले पश्चिम एसियाभरि एकतर्फी आक्रमणकारी ड्रोन प्रयोगलाई आफ्नो सैन्य रणनीतिको प्रमुख अंग बनाएको छ। युद्ध सुरु भएयता उसले यस्ता तीन हजारभन्दा बढी ड्रोन प्रहार गरिसकेको छ, जुन उसले सस्तोमा उत्पादन गर्न सक्छ।
रूसले सन् २०२३ यता युक्रेनमा प्रयोग गर्न इरानी डिजाइनमा आधारित एकतर्फी आक्रमणकारी ड्रोन उत्पादन गर्दै आएको छ। ती ड्रोनहरूलाई हवाई प्रतिरक्षा प्रणाली छल्न र बढी भार बोक्न सक्षम बनाउन परिमार्जन गरिएको छ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो अन्तोनियो जिउस्तोत्सीले भने, ‘इरानलाई थप ड्रोन आवश्यक छैन। उसलाई अझ उन्नत ड्रोन चाहिएको हो। उनीहरू उन्नत क्षमतातर्फ लागिरहेका छन्।’
जिउस्तोत्सीले आफूले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सभित्रका स्रोतहरूबाट अमेरिका र इजरायलको आक्रमणलगत्तै रूससँग ड्रोन आपूर्तिबारे छलफल सुरु गरिएको थाहा पाएको दाबी गरेका छन्।
एक पश्चिमी सुरक्षा अधिकारीका अनुसार यस महिनामा रूसले इरानलाई पठाउने सहमति गरेको ड्रोनको ठ्याक्कै प्रकार अझै स्पष्ट भएको छैन। तथापि मस्कोले इरानी साहेद–१३६ मा आधारित ‘गेरान–२’ जस्ता मोडेल आपूर्ति गर्न सक्ने बताइएको छ।
यस विषयमा जानकार व्यक्तिहरूका अनुसार इजरायलले गत साता क्यास्पियन सागरमार्ग हुँदै रूस–इरानबीच हुने महत्त्वपूर्ण सैन्य आपूर्ति मार्गलाई निसाना बनाएर आक्रमण गरेको थियो।
साइन्सेस पो विश्वविद्यालयकी प्राध्यापक निकोल ग्राजेव्स्कीका अनुसार तेहरान आफ्ना स्वदेशी प्रणाली सुधार गर्न ड्रोनको ‘रिभर्स इन्जिनियरिङ’ गर्न चाहन सक्छ।
उन्नत रुसी हतियारहरूले इरानी ड्रोन आक्रमणको प्रभावकारिता बढाउन सक्ने उनको भनाइ छ।
ग्राजेव्स्कीका अनुसार रूसले साहेद ड्रोनमा इन्जिन, नेभिगेसन र ‘एन्टी-ज्यामिङ’ क्षमतामा ठूलो सुधार गरेको छ। त्यसैले यी प्रणालीहरू इरानले स्वदेशमै उत्पादन गरिरहेका ड्रोनभन्दा बढी उन्नत छन्।
तेहरानले रूससँग अझ उन्नत हवाई प्रतिरक्षा प्रणालीको मागसमेत गरेको छ। गत डिसेम्बरमा तीन वर्षभित्र पाँच सयवटा ‘वर्बा’ पोर्टेबल लन्च युनिट र दुई हजार पाँच सय वटा एम३३६ मिसाइल आपूर्ति गर्ने सम्झौता गरेको छ।
क्रेमलिनले यस्तो कदम चाल्दा अमेरिकासँग तनाव थप चर्किने जोखिम देखेको हुन सक्ने बताइएको छ। साथै जटिल एस–४०० प्रणाली प्रयोग गर्न इरानी सेनालाई व्यापक तालिम आवश्यक पर्ने भएकाले व्यवहारतः रुसी टोलीले नै युद्धस्थितिमा अमेरिकी विमानलाई लक्षित गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।




