जहाज दुर्घटनाको असर पोखराको पर्यटनमा

हिमाल प्रेस १३ माघ २०७९ १४:५२
10
SHARES
जहाज दुर्घटनाको असर पोखराको पर्यटनमा

पोखरा– माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अंग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरि सुस्ताएको हो।

‘जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए। तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्,’ रेवान पोखराका अध्यक्ष एवम् होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिए।

‘अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ,’ उनले भने। हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उनको भनाइ छ।

यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन्।

होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो संख्या घटेको बताउँछन्।। ‘विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन्,’ उनले भने।

उनका अनुसार होटल सरोवरमा जनवरीमा ६० र फेबु्रअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउँछन्।। ‘अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन्,’ उनले भने।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको जानकारी दिए।

विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ। सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्,’ उनले भने। उनका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन्।

जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि देखिएको छ। संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्यांक अहिले घटेको जानकारी दिए।

बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवम् अन्य पर्यटक पनि नआएको उनको भनाइ छ। माघ १ मा काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार यात्रु र चालक दलसहित सबैको निधन भएको थियो। -राससको सहयोगमा

प्रकाशित: १३ माघ २०७९ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast