प्रधानमन्त्रीले स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएकोमा महावीर पुनको असन्तुष्टि

हिमाल प्रेस २ चैत २०८२ ६:२७ | Monday, March 16, 2026
14
SHARES
प्रधानमन्त्रीले स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएकोमा महावीर पुनको असन्तुष्टि

काठमाडौँ- पूर्व शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद पुनले प्रधानमन्त्रीको यो कदमको विरोध गर्दै नियुक्त श्रेष्ठलाई उक्त पद नलिन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिनु । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ।’

नेपालका पुराना राजनीतिक दलहरू नातावाद, चाकरीबाज र कृपावादकै कारण समाप्त भएको उल्लेख गर्दै पुनले नयाँ दलहरूलाई समेत सचेत गराएका छन् । ‘यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होसियार गर्ने म छु,’ उनले लेखेका छन्। यो नियुक्तिबारे अब आउने सरकारले बुद्धि पुर्‍याएर निर्णय गर्नुपर्ने उनको धारणा छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ आगामी ५ वर्षका लागि मनोनयन भएका छन् । कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सो पदमा नियुक्त गरेकी हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा सिन्धुलीका श्रेष्ठलाई ल्याइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने कानुनी व्यवस्था गरेको छ । सोही प्रावधानलाई टेकेर प्रधानमन्त्रीले आफ्नै सचिवालयका सदस्यलाई नियुक्त गरेपछि अहिले चौतर्फी आलोचना र विरोध सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast