महावीर पुन
काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा जिल्लाका केही दुर्गम बस्तीमा राहत सामग्री अझै नपुगेको जानकारी आएको भन्दै आवश्यक विवरण उपलब्ध गराउन स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले राहत नपुगेका स्थानका स्थानीयले आफूलाई ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न सक्ने बताएका छन्।
उनले स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आधिकारिक पत्रमार्फत गाउँको नाम, पीडितहरूको संख्या र आवश्यक राहत सामग्रीको विवरण आफ्नो ह्वाट्सएपमा पठाउन अनुरोध गरेका छन्।
मन्त्री पुनका अनुसार विवरणमा खानेकुरा, भाँडाकुँडा, ओढ्ने ओछ्याउने सामग्री, टेन्ट, त्रिपाल, औषधीलगायत आवश्यक सामग्रीको सूची समावेश गर्नुपर्नेछ।
उनले प्राप्त विवरणका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग समन्वय गरेर राहत सामग्री सम्बन्धित स्थानसम्म पुर्याउने प्रयास गर्ने बताएका छन्।


