क्याम्पसमा दलीय राजनीति बन्द गराउन माग गर्दै नेविसंघ एकाइ सभापतिको राजीनामा

हिमाल प्रेस २७ फागुन २०८२ १०:५४ | Wednesday, March 11, 2026
18
SHARES
क्याम्पसमा दलीय राजनीति बन्द गराउन माग गर्दै नेविसंघ एकाइ सभापतिको राजीनामा

स्याङ्जा- गल्याङ बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघ (नेविसंघ) एकाइ सभापति प्रदिप भुसालले क्याम्पस क्षेत्रभित्र हुने दलीय विद्यार्थी राजनीति अन्त्य गर्न माग गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्।

क्याम्पस प्रमुखलाई सम्बोधन गर्दै उनले दिएको निवेदनमा हाल देशमा परिवर्तनको सन्देशसहित भएको जेनजी आन्दोलन तथा फागुन २१ गते सम्पन्न निर्वाचनले मुलुकमा नयाँ आशा र अपेक्षा जन्माएको उल्लेख गरेका छन्। तर उक्त परिवर्तनको सन्देश क्याम्पसमा प्रभावकारी रूपमा लागु नभएको उनले बताएका छन्।

भुसालले शिक्षालय ज्ञान, अध्ययन र सभ्य बहसको थलो हुनुपर्ने भए पनि क्याम्पस परिसरभित्र बढ्दै गएको दलीय राजनीति र अनावश्यक हस्तक्षेपले शैक्षिक वातावरण प्रभावित भइरहेको उल्लेख गरेका छन्।

उनले क्याम्पस प्रशासनसमक्ष चार बुँदे माग पनि प्रस्तुत गरेका छन्। जसअनुसार क्याम्पस हाताभित्र हुने दलीय राजनीतिक कार्यक्रम तत्काल बन्द गर्नुपर्ने, अध्ययनअध्यापनलाई नियमित र व्यवस्थित बनाउनुपर्ने, राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक वातावरण सुनिश्चित गर्न स्पष्ट नीति लागु गर्नुपर्ने तथा विद्यार्थीलाई स्वतन्त्र र सिर्जनशील शैक्षिक गतिविधिमा केन्द्रित हुन प्रोत्साहित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै उनले क्याम्पस प्रशासन, त्रिभुवन विश्वविद्यालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई क्याम्पस क्षेत्रमा हुने दलीय राजनीतिक गतिविधि अन्त्य गरी शान्त, अनुशासित र शैक्षिक वातावरण सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्।

उक्त मागहरूसँगै आफू पनि नैतिक रूपमा जिम्मेवार हुनुपर्ने विश्वास व्यक्त गर्दै भुसालले गल्याङ बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ एकाइ सभापति पदबाट तत्काल लागु हुने गरी राजीनामा दिएको जनाएका छन्।

प्रकाशित: २७ फागुन २०८२ १०:५४ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast