काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ। मंगलबार एन्फाले नेपाल खेलाडी संघसँग लिग गर्ने सहमति गरेको हो।
चैत ३० गते उद्घाटन गरी केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर अन्य खेल भने वैशाख २० बाट निरन्तर गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। त्यस्तै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ।
खेलाडीहरूको सेवासुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको प्रवक्ता शाहले बताए।
त्यस्तै खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली फुटबललाई चलायमान बनाउन आफूहरूको दबाब भएको भन्दै अहिले भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे। अब दुवै पक्षले गम्भीर भएर नेपाली फुटबल खेलाडीहरू अघि बढ्ने उनले बताए।
एन्फा र संघबीच सहमति भएपछि एन्फा मुख्यालयमा गरिएको तालाबन्दी खोलिएको छ। वार्तामा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए।





