काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन्। ठप्प रहेको नेपाली फुटबल क्षेत्रलाई पुनः चलायमान बनाउने भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्।
ताला खोलेपछि उनीहरूले शुक्रबार एन्फा कार्यसमिति बैठक बस्ने घोषणा गरेका छन्।
एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले २१ दिनअघि नै कार्यसमिति बैठक बोलाउन माग गरे पनि बैठक आह्वान नभएपछि २२औँ दिनमा कार्यालयको ताला खोलेर बैठकका विषयमा छलफल गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए।
उनका अनुसार नेपाली फुटबलमाथि लागेको प्रतिबन्ध र फुटबल क्षेत्रमा देखिएको विवादको निकास खोज्न बैठक बोलाउन लागिएको हो। फिफाले लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएको अवरोध हटाउने विषयमा बैठकमा छलफल हुनेछ।
खड्काले कात्तिक १३ गते हुने बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत सबै कार्यसमिति सदस्यलाई उपस्थित हुन आग्रह गरेका छन्। नेपाली फुटबललाई निकास दिन सबै पक्ष एकै ठाउँमा बसेर निर्णय गर्नुपर्ने उनको भनाइ छ।
बैठकको उद्देश्य कसैलाई पदबाट हटाउने वा कुनै पक्षलाई निषेध गर्ने नभई नेपाली फुटबलमा देखिएको अवरोध हटाएर निकास खोज्नु रहेको उनले बताए।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले नेपाललाई निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र प्रभावित हुँदै आएको छ। पछिल्लो विवाद समाधान गरी फुटबल गतिविधि पुनः सञ्चालन गर्ने चुनौती एन्फासामु छ।



