पूर्वमा ‘हर्क प्रभाव’ : भत्किए ठूला दलका गढ

किरण पौडेल २६ फागुन २०८२ १२:०३ | Tuesday, March 10, 2026
212
SHARES
पूर्वमा ‘हर्क प्रभाव’ : भत्किए ठूला दलका गढ

काठमाडौँ–  प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले कोशी प्रदेशको पहाडी क्षेत्रमा नयाँ राजनीतिक समीकरण देखाएको छ। धरान उपमहानगरका निवर्तमान प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्दै अप्रत्यासित उदय देखाएको हो। देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको उभार देखिएका बेला पूर्वी पहाडमा भने श्रम संस्कृति पार्टीले ठूला दलको परम्परागत गढ भत्काउँदै आफ्नो प्रभाव विस्तार गरेको छ।

समानुपातिकतर्फ पनि संस्कृति पार्टी थ्रेसहोल्डमाथि रहेकाले केही सिट थपिने लगभग निश्चित छ। ९२ लाख मतगणना हुँदा यो पार्टीले झन्डै सबा तीन लाख मत पाइसकेको छ।

रास्वपाका पक्षमा जनमत एकत्रित हुँदा नेपाली कांग्रेस, एमाले र नेकपालगायतका दल धेरै क्षेत्रमा पछारिएका छन्। तर पूर्वी पहाडमा भने श्रम संस्कृति पार्टीले ठूला दलका परम्परागत गढ भत्काउँदै सिट जित्न सफल भएको छ।

श्रम संस्कृतिले ठूला दलको गढ भत्काएर जित निकालेको छ। कांग्रेस र एमालेको वर्चस्व रहँदै आएको खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई निर्वाचित भए।
कम्युनिस्ट गढ मानिँदै आएको भोजपुरमा पनि संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई निर्वाचित भएका छन्। उनले एमालेका सचिव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। शेरधनकै कार्यकर्ता रहँदै आएका ध्रुव चुनावअघि मात्रै हर्कको पार्टीमा प्रवेश गरेका हुन्।

सुनसरी १ मा हर्क साम्पाङ आफैँ निर्वाचित भएका छन्। ३४ हजार ६२ मत प्राप्त गर्दै हर्कको संसद्  प्रवेश गर्ने निश्चित भएको छ। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले २३ हजार ४२५ मत ल्याइन्।

कति फैलियो हर्कको शक्ति?

श्रम संस्कृतिलाई फैलाउनमा हर्ककै हात छ। संस्कृतिका महासचिव एवं नवनिर्वाचित सांसद आरेन राईका अनुसार श्रम संस्कृति पार्टीको मूल आधार हर्क हुन्। ‘उहाँ (हर्क) नभएको भए सम्भव थिएन। हाम्रो अग्रज नेता हुनुहुन्छ उहाँ’, आरेन भन्छन्।

हर्कले लामो समय अभियन्ताका रूपमा काम गरेर राजनीति रोजेका हुन्। धरान उपमहानगरका बासिन्दा उनी उपमहानगरका विकृतिविरुद्ध आवाज उठाउँथे। २०७४ सालको स्थानीय चुनाव जितेका मेयर तारा सुब्बाको निधन भएपछि २०७६ मा धरानमा उपनिर्वाचन भयो। त्यस बेला साम्पाङले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ५४० मत पाए। उनी निराश भएनन्। बरु उनले अर्को चुनावमा उठ्ने घोषणा गरेर तयारीमा जुटे।

हर्कले अभियान तीव्र बनाए। खानेपानी समस्यालाई प्रमुख मुद्दा बनाए भने अन्य समस्या समाधानको माग गर्दै आन्दोलन गरिरहे। धरान उपमहानगरपालिका कार्यालयअगाडिको प्रदर्शनमा उनी जनप्रतिनिधिलाई चुनौती दिँदै भन्थे, ‘खानेपानीमा किन समस्या भयो? भ्रष्टाचार किन बढ्यो? बाहिर आएर जवाफ देऊ।’ यसरी आन्दोलित हुँदा उनलाई कहिले प्रहरी लगाएर हटाइन्थ्यो त कहिले पक्राउ गरिन्थ्यो।

२०७९ को स्थानीय चुनावमा हर्कले धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले २० हजार ८२१ मत पाएर निर्वाचित भए।  मेयरमा निर्वाचित भएपछि हर्क श्रम संस्कृति अभियानमा लागे। धरानमा खानेपानी आपूर्ति गराउन जनश्रमदान जुटाउन थाले। उनले नगरवासीलाई साताको एक दिन श्रम गराए।

महासचिव आरेनका अनुसार अरूले भन्ने गरेका कुरा आफूहरूले पूरा गरेका काम स्थापित भएका हुन्। ‘हामी हाम्रै काममा विश्वास गर्छौँ। हामी हाम्रा एजेन्डाप्रति प्रतिबद्ध भएकै कारण जनताले पत्याएका हुन्’, उनी थप्छन्।

श्रम संस्कृतिको शक्ति यति मात्र होइन, पूर्वी पहाडी जिल्लामा समानुपातिकतर्फ उल्लेखीय मत छ। श्रम संस्कृति पार्टीले सुनसरी, पाँचथर र खोटाङमा पहिलो स्थानमा मत पाएको छ। झापा १ र उदयपुरमा दोस्रो मत पाएको छ। संस्कृति पार्टीले प्रत्यक्षतर्फ पनि धेरै स्थानमा कडा प्रतिस्पर्धा गर्‍यो।  श्रम संस्कृतिका उम्मेदवारले पाँचथर, इलाम, उदयपुरसहितका जिल्लामा निर्वाचित उम्मेदवारलाई कडा टक्कर दिए।

हर्कको शक्ति फैलिनुको कारण

पूर्वी पहाडी क्षेत्रमा लामो समयदेखि लिम्बुवान र खम्बुवान शक्तिहरू पहिचानको नाम लिएर राजनीति गर्दै आएका छन्। पछिल्लो समय भने ती शक्तिहरू कमजोर भएका थिए।

लेखक राजन मुकारुङका अनुसार वैकल्पिक भनिने पहिचानवादी शक्ति विभाजित हुँदा पूर्वी पहाडमा पहिचानवादी नेताकै संकट थियो। ‘पहिचानको राजनीति गर्छु भन्नेहरू आफैँ फुटे। जनतालाई विश्वास गर्नै सकेनन्’, मुकारुङ भन्छन्।

पहिचानवादीको नाममा आदिवासी जनजातिको मत लिने जमात पनि छ। तर पछिल्ला दिनमा त्यो स्थान ठूलै दलले लिएका थिए। प्रदेशसभामा पहिचानवादी पार्टी मानिने जनता समाजवादी पार्टीबाट एक मात्र सांसद छन्। जसपाभित्रकै किचलोले गर्दा पार्टी विभाजित भयो। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जसपाबाट अशोक राई निर्वाचित भएका थिए। सुनसरी १ बाट निर्वाचित भएका उनी पार्टीभित्र कमजोर भए।

‘राई समुदायले विगतबाटै कसलाई नेता मान्ने प्रवृत्ति छ’, मुकारुङ भन्छन्, ‘कुनै बेला गोपाल किरातीलाई किरात समुदायले नेता माने, पछि अशोक राईलाई माने। अहिले ती सबै हराए।’ मुकारुङका अनुसार राई समुदाय बाहुल्य कोशीमा आफ्नै समुदायका व्यक्ति नेता मान्ने गरिए पनि उनीहरू मूलधारका दलमा प्रवेश गरेकाले नेतृत्व संकटमा परेको थियो। ‘अहिले हर्क आइदिए। ठूलो जमातले उनलाई नेता मान्न थाल्यो’, मुकारुङ भन्छन्। तर हर्क लोकप्रिय हुनुको आधार जातीय आधार मात्र होइन। श्रमिकसँग जोडिनु पनि हो।

‘कोशी कम्युनिस्ट आन्दोलन र स्कुलिङ भएको क्षेत्र हो। जहाँका जनता कम्युनिजमसँग सहमत हुन्छन्,’ मुकारुङ थप्छन्, ‘तर जुनजुन नेताहरू कम्युनिस्ट आन्दोलनबाट आए तिनीहरूले भुइँ छाडे। हर्क साम्पाङ जनतासँगै छन्।’ झापा आन्दोलन होस् वा पहिचानको आन्दोलन पूर्वी पहाडी क्षेत्रबाटै उत्पन्न भए। समयक्रममा ती नेताहरू कोही पनि पहिचान पक्षमा नउभिएको मुकारुङ बताउँछन्।

पछिल्लो समय ‘नो केबलकार’, ‘नो कोशी’ आन्दोलनका कारण कांग्रेस र एमाले कमजोर बने। ताप्लेजुङको पाथीभरामा केबलकार नबनाउन माग गर्दै ठूलो आन्दोलन भयो। कांग्रेस-एमालेका नेताहरू भने केबलकार निर्माणका पक्षमा उभिए। कोशीको नाम पहिचानका आधारमा राख्न पनि ठूलै आन्दोलन भयो। ‘यी आन्दोलन पनि प्रभावकारी भएनन्। यही कारण हर्कलाई मत आयो’, मुकारुङ भन्छन्।

फैलिएला हर्कको शक्ति?

हर्कले पार्टी गठन गरेको तीन महिना भयो। संस्कृतिका नेताहरू छोटो समयमै यति धेरै प्रगति भएकाले अबको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्छन्।

‘हामी अरू राजनीतिक दलजस्तो सहरमुखी राजनीति गर्दैनौँ। हामी जनतामुखी राजनीति गर्छौँ। जनताले पत्याए हामी ठूलो शक्ति बन्नबाट रोकिन्नौँ’, महासचिव आरेन भन्छन्। हर्कले अहिलेसम्म गरेका कामकै आधारमा मत पाएका हुन्। उनले ‘हर्कवाद’ नामको मूल सिद्धान्त बनाएका छन्। ‘देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभुता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र हर्कवाद भएको दाबी छ।

‘हर्क माटोको राजनीति गर्छन्। यही शैली अपनाए आगामी दिनमा मूल शक्ति बन्ने देखिन्छ’, मुकारुङ भन्छन्।

पहिचानवादी नेता विभाजित भएका कारण यस्तो परिस्थिति बनेको मुकारुङको बुझाइ छ। ‘अब पनि सुदन किराती, महेन्द्र लावतीसहितका नेताहरू एक हुनुपर्ने देखिन्छ’, उनले सुझाव दिए।

पहिचानवादी नेता अझै एकजुट बन्न सकेनन्

कुमार लिङ्देन, सन्जुहाङ पालुंगाजस्ता नेताले लामो समय पहिचानको राजनीति गरे। उनीहरू कहिले एउटै दल त कहिले विभाजित हुन्थे। सोही कारण खगेन्द्र माखिमसहितका नेता पनि अहिले अस्तित्वकै संकटमा छन्।

यसअघि जसपा विभाजित हुँदा माखिम तेस्रो धार लिएर पहिचानवादी अभियानमा होमिएका थिए। तर उनले चुनावमा सम्मानजनक मत पाउन सकेनन्। पूर्वमा लामो समयदेखि केपी पालुंगाले नेपाल जनमुक्ति पार्टी स्थापना गरेर पहिचानको राजनीति गरे। तर उनको मत कमजोर छ। यसपालिको चुनावमा पनि जनमुक्ति (घर चुनाव चिह्न) मा दुई हजार मत मात्र ल्याएको छ।

पूर्वमा उम्मेदवार उठाए पनि धेरैको जमानत जफत हुनेगरी मत आएको छ।  यसअघि इलाम २ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमले केही मत पाएका थिए। उनलाई पनि हर्क साम्पाङले समर्थन गरेका थिए। अहिले थेगिम छुट्टै अभियानमा छन्। पहिचानकै राजनीति गर्ने पाँचथरका डा. महेन्द्रसिंह लावती पनि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालमा आबद्ध छन्।

पुराना पहिचानवादी नेताहरू अशोक राई जसपामा, रकम चेम्जोङ जसपा नेपालमा, गोपाल किराती नेकपामा, सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन्। उनीहरू एक ठाउँमा आएमात्र पहिचानवादी आन्दोलन अघि बढ्ने मुकारुङको भनाइ छ।

प्रकाशित: २६ फागुन २०८२ १२:०३ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast