आजको मौसम : कतै धुम्मधाम्म र वर्षाको भेल

हिमाल प्रेस १ असार २०८३ ६:१७ | Monday, June 15, 2026
8
SHARES
आजको मौसम : कतै धुम्मधाम्म र वर्षाको भेल फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। यसैका कारण देशका फरकफरक भूभागमा मौसमको विविध रूप देखिन थालेको छ।

अहिले देशको हिमाली र पहाडी भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ। बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबारको मौसम पूर्वानुमान हेर्दा देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। देशका अन्य पहाडी भूभागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ। पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।

एकतर्फ पहाडी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १ असार २०८३ ६:१७ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast