काठमाडौँ- अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति भएको छ। लामो समयदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा पोस्ट लेख्दै इरानसँगको प्रारम्भिक सम्झौता भएको जानकारी दिएका छन्। इरानी अधिकारीहरूले पनि सम्झौता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
सम्झौता सम्बन्धी समझदारीपत्र ९एमओयू०मा भने आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ। यद्यपि सम्झौताका विस्तृत सर्तहरू तत्काल सार्वजनिक गरिएको छैन। विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्। यो सहमतिपछि सोमबार प्रारम्भिक कारोबारमै विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।
यसअघि दुई देशबीच युद्ध अन्त्यका लागि मुख्य मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेख्दै सम्झौतामा लेबननसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको बताएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि लेबननसहित सबै मोर्चामा युद्ध र सैन्य गतिविधि स्थायी रूपमा रोक्ने जनाएको छ। यद्यपि अमेरिका–इरान वार्तामा सहभागी नभएको बताउँदै आएको इसराइलले सम्झौताबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
ट्रम्पले विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुल्ने बताएका छन्। इरानले महिनौँदेखि प्रभावकारी रूपमा अवरोध गर्दै आएको उक्त मार्ग खुलाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन आफूले आदेश दिएको ट्रम्पले जनाएका छन्।




