युद्ध अझै सकिएको छैन : नेतन्याहु

हिमाल प्रेस २६ असार २०८३ २०:१९ | Friday, July 10, 2026
8
SHARES
युद्ध अझै सकिएको छैन : नेतन्याहु तस्बिर : एफपी

काठमाडौँ- अमेरिका र इरानबीचको युद्धविराम सहमति भंग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन्।

उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन्।

हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै देशको राष्ट्रिय सुरक्षा प्रणालीको मुख्य आधार रहेकोमा जोड दिए।

उनले तेहरानले उल्लेखनीय धक्का खाएको तर पनि नयाँ रणनीतिक चुनौतीहरू देखा पर्न थालेको संकेत गरे।

इजरायली सञ्चारमाध्यमले प्रधानमन्त्री नेतन्याहुलाई उद्धृत गर्दै भन्यो, ‘इरानी शासनलाई ठूलो झट्का लागेको छ र हाम्रो नीति स्पष्ट छ, चाहे सम्झौता होस् वा नहोस्, इरानले आणविक हतियार प्राप्त गर्न पाउने छैन। यदि हामीले कदम नचालेको भए इरानले आणविक हतियार प्राप्त गरिसकेको हुन्थ्यो। युद्ध अझै सकिएको छैन र हाम्रो सामु नयाँ चुनौतीहरू देखा पर्दै छन्।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘समाप्त’ भएको घोषणा गरी दुई देशबीचको सैन्य हमलापछि तेहरानसँगको कूटनीतिक प्रयासलाई ‘समयको बर्बादी’ भनेको एक दिनपछि इजरायली नेताको यो भनाइ आएको हो।

तेहरानले हर्मुजमा व्यावसायिक जहाजहरूलाई आक्रमण गरेको र त्यसपछि वाशिङ्गटनले ८० भन्दा बढी इरानी लक्ष्यहरूलाई आक्रमण गरी तेहरानको पेट्रोलियम निर्यातमा प्रतिबन्ध लगाएपछि इरानले बहरइन र कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको थियो।

प्रधानमन्त्री नेतन्याहुको चेतावनीसँगै इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले तेहरानविरुद्धको आक्रमण अझै समाप्त नभएको बताएका छन्। तर रक्षा सेना नयाँ रणनीतिक योजनाहरू तयार पारिरहेको उल्लेख गरे।

यसैबीच, इजरायली रक्षा मन्त्री इजरायल काट्जले पनि यदि आवश्यक परेमा इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको बताएका छन्।

‘यदि हामीलाई फर्किनु पर्छ भने, हामी अझ ठूलो शक्तिका साथ फर्किनेछौँ,’ काट्जले भने। उनले इजरायल आफ्नो हवाई प्रभुत्व कायम राख्न र क्षेत्रीय खतरा निष्क्रिय पार्न अत्यन्त सतर्क रहेको बताए।-रासस/एएनआई

प्रकाशित: २६ असार २०८३ २०:१९ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast