काठमाडौँ उपत्यकाका १५ क्षेत्रमा निर्वाचित रास्वपाका उम्मेदवारहरू।
काठमाडौँ- १५ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँ उपत्यकाका सबै सिटमा रास्वपा उम्मेदवार निर्वाचित हुँदा नेकपा एमालेले ठूलो पराजय व्यहोरेको छ। २०४८ यताका अधिकांश चुनावी नतिजामा काठमाडौँ, ललितपुर र भक्तपुरमा एमालेको वर्चस्व रहँदै आएको थियो।
उपत्यकाका तीन जिल्लामा भक्तपुरमा दुई, ललितपुरमा तीन र काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ भएको मत गणनाको अन्तिम परिणामअनुसार काठमाडौँ क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ तथा ललितपुर ३ बाट तोसिमा कार्कीले दोस्रोपटक चुनाव जितेका हुन्। उनीहरू २०७९ सालको चुनावमा पनि ती क्षेत्रबाट निर्वाचित भएका थिए।
काठमाडौँका आठ क्षेत्र (१, २, ४, ५, ६, ७, ९ र १०) तथा ललितपुरका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निकटतम् प्रतिस्पर्धी बनेका छन्। यसैगरी एमाले भक्तपुर २ मा मात्रै निकटतम् प्रतिस्पर्धी बनेको छ। काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, काठमाडौँ ८ मा नेकपाका सुमन सायमी र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निकटतम् प्रतिस्पर्धी बनेका छन्।
काठमाडौँ १ मा रास्वपाकी रञ्जु दर्शना निर्वाचित भएकी छन्। उक्त क्षेत्रबाट उनले नेपाली कांग्रेसका प्रबल थापालाई पराजित गरेकी हुन्। दर्शना १५ हजार ४५५ मत ल्याई निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याएका छन्। उक्त क्षेत्रमा एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत ल्याएर चौथो भएका छन्।
काठमाडौँ २ मा रास्वपाका सुनिल केसी निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका कविर शर्मालाई पराजित गरेका हुन्। केसीले ३४ हजार २३८ मत ल्याउँदा शर्माले आठ हजार ८७४ मत ल्याए। यस क्षेत्रमा एमालेका मणिराम फुयाल पाँच हजार ७३३ मत ल्याएर तेस्रा भए।
काठमाडौँ ३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित भए। उक्त क्षेत्रबाट उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पराजित भएका छन्। पाण्डेको १८ हजार ७५६ मत छ भने घिसिङले ११ हजार १७१ मत ल्याएका छन्। यस क्षेत्रमा एमालेका रामेश्वर फुयाल तीन हजार ८२६ मतसहित चौथो बनेका छन्।
काठमाडौँ ४ मा रास्वपाका पुकार बम निर्वाचित हुँदा कांग्रेसका सचिन तिमल्सेना पराजित भए। बमले २९ हजार १४२ मत ल्याएका छन्। तिमल्सेना आठ हजार ८२४ मतमा सीमित भए। एमालेका राजन भट्टराई पाँच हजार ४३३ मतसहित तेस्रा भएका छन्।
यसैगरी काठमाडौँ ५ मा रास्वपाका सस्मित पोखरेल कांग्रेसका प्रदीप पौडेललाई पराजित गर्न सफल भए। पोखरेलको ३० हजार ७३७ मत छ भने पौडेलले नौ हजार १५९ मत ल्याएका छन्। एमालेका ईश्वर पोखरेल चार हजार ७०१ मत पाएर तेस्रा भए।
काठमाडौँ ६ मा रास्वपाबाट निर्वाचित शिशिर खनालले २७ हजार ७१९ मत पाए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँले ६ हजार ७५१ मत ल्याएका छन्। खनालले उक्त क्षेत्रबाट दोस्रो पटक चुनाव जितेका हुन्। यस क्षेत्रमा एमालेका अमनकुमार मास्केले चार हजार २६८ मत ल्याएर तेस्रा भएका छन्।
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली पनि दोस्रो पटक निर्वाचित भए। उनले कांग्रेसका प्रमोदहरि गुरागाईँलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। पराजुलीको २७ हजार ८०५ मत छ भने गुरागाईँले तीन हजार ९८२ मत ल्याएका छन्। एमालेका प्रकाश श्रेष्ठले तीन हजार ५४४ मत ल्याए।
काठमाडौँ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनले नेकपाका सुमन सायमीलाई हराएका हुन्। श्रेष्ठले २४ हजार ५९२ मत ल्याई निर्वाचित हुँदा सायमीले तीन हजार २१७ मत ल्याएका छन्। यस क्षेत्रमा एमालेका राजेश शाक्यले एक हजार ३२८ मत पाएर पाँचौँ भएका छन्।
काठमाडौँ ९ मा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित हुँदा कांग्रेसकी नानुमैया बास्तोला पराजित भइन्। अर्याल ३५ हजार ९३ मत ल्याई निर्वाचित हुँदा बास्तोलाले पाँच हजार ४६० मत ल्याएकी छन्। एमालेका अजयक्रान्ति शाक्य चार हजार ५८० मत सहित तेस्रो भएका छन्।
काठमाडौँ १० मा रास्वपाका प्रदीप विष्ट निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की थिए। विष्टले ३७ हजार ४६९ मत ल्याउँदा कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत ल्याएका छन्। एमालेका विनोद श्रेष्ठ चार हजार ८६४ मत ल्याएर तेस्रा भएका छन्।
यसैगरी ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन निर्वाचित हुँदा नेपाली कांग्रेसका उदयशमशेर राणा पराजित भए। महर्जनले २३ हजार ३७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राणाले १३ हजार ५२० मत ल्याएका छन्। एमालेका चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत ल्याएर तेस्रा भएका छन्।
ललितपुर २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा एमालेका प्रेमबहादुर महर्जनले एक हजार ४११ मत पाएर तेस्रा भएका छन्।
ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी छन्। ललितपुर ३ मा कार्कीले ४३ हजार ९६ मत ल्याएर चुनाव जित्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्। एमालेका सन्दन थापा मगर तीन हजार २९७ मत ल्याएर चौथा भएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित निर्वाचित भएका छन्। उनले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई पराजित गरेका छन्। रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएका छन्। एमालेका सोमप्रसाद मिश्र तीन हजार ७२१ मतसहित चौथा भएका छन्।
भक्तपुर २ मा रास्वपाका राजीव खत्री निर्वाचित हुँदा एमालेका सचिव महेश बस्नेत पराजित भएका छन्। खत्रीले ४२ हजार ३३४ मतसहित चुनाव जित्दा निकटतम् प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत ल्याएका छन्।
रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिनस्विप, स्थापित दलको भत्कियो किल्ला





