गत भदौको ‘जेनजी विद्रोह’ र सामाजिक सञ्जालको डिजिटल शक्तिलाई आधार बनाएर उठेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरले काठमाडौँदेखि गाउँसम्मका पुराना किल्ला भत्काउँदै मुलुकलाई नयाँ राजनीतिक दिशातिर डोर्याएको छ।
मुलुकको राजनीतिक इतिहासमा २०८२ फागुन २१ (मार्च ५, २०२६) को आमनिर्वाचन एक ‘ऐतिहासिक मोड’ साबित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमत ल्याउने गरी अघि बढेको देखिन्छ। देशका ठूला सहरहरूमा कांग्रेस-एमालेजस्ता पुराना दल निकै पछाडि परेका छन्। प्रतिस्पर्धामा रास्वपाका उम्मेदवारहरूको मतान्तर धेरै देखिएको छ।
यो जनलहर २०७९ को निर्वाचनमा ७ प्रत्यक्ष र १३ समानुपातिक सिट जितेर राष्ट्रिय दल बनेको रास्वपाको निरन्तरता मात्र होइन, दशकौँदेखि सत्तामा आलोपालो गर्दै आएका पुराना दलहरूविरुद्ध जनताको गहिरो विद्रोह र असन्तुष्टिको प्रमाण हो।
यो अवस्थाको सबैभन्दा ठूलो कारण गठबन्धनका नाममा मतदातालाई आफूखुसी भोट दिन नदिने बाध्यता र नेताहरूको व्यक्तिगत स्वार्थ (सत्ता प्राप्ति र भागबण्डा) हो। सत्तामा २०४६ सालको परिवर्तनपछि देखिएका अनुहारकै वर्चस्व रह्यो। २०६२/०६३ पछि राजनीतिमा देखिएका अनुहार स्वार्थमा केन्द्रित भएर अग्रस्थानमा रहे।
मुलुक र शासनसत्तालाई उनीहरूले निजी सम्पत्तिजस्तै ठाने। यसले राजनीतिक वितृष्णा चरममा पुग्यो र जनता स्वतन्त्र र नयाँ विकल्प खोजिरहेका थिए, रास्वपामार्फत त्यो उकुसमुकुस बाहिर निस्केको हो। गत भदौ २३-२४ मा भएको ‘जेनजी विद्रोह’ यस लहरको प्रमुख पृष्ठभूमि बन्यो, जसले अन्ततः सरकार ढाल्ने राजनीतिक परिस्थिति सिर्जना गर्यो।
जेनजी विद्रोह सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देखा परेको थियो। यसले भ्रष्टाचार, युवा बेरोजगारी, ‘नेपोबेबी’ संस्कृति र कुशासनविरुद्ध आवाज उठायो। साथै युवा नेतृत्वको यो आन्दोलनले पुराना दलहरूको आलोपालो नेतृत्व, संस्थागत भ्रष्टाचार र स्वार्थकेन्द्रित राजनीतिलाई उजागर गर्यो।
मुख्य दोष पुराना दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र) को हो, जसले जनताको अपेक्षा पूरा गर्न सकेनन्। उनीहरू केही माफियाको चंगुलमा परे। नचाहिँदो तवर कमाउने मात्र होइन राज्यको ढुकुटी कुम्ल्याउने ध्येय बढेर गयो। जसले गर्दा उनीहरूले आमनागरिकलाई पर्ने पीडा बोध भएन। नागरिकबारे सोच्नै छाडे।
यहाँ रास्वपामा जनलहर आउनुका पछाडिका केही कारण खोतलिएको छ। पुराना राजनीतिक दलहरूको विफलता, युवा पुस्तामा बढ्दो आकांक्षा सम्बोधन हुन नसक्नु, वैदेशिक रोजगारीको पीडा, कर्मचारीतन्त्रमा रहेको मनपरीतन्त्र, हरेक क्षेत्रमा बिचौलियाको हालिमुहाली, राजनीतिमा नातावाद अनि आमनागरिकको समस्यालाई बेवास्तालगायत छन्।
यसमा भूराजनीतिक जटिलता देखाएर जिम्मेवबारीबाट उम्कने गलत प्रवृत्ति पनि छ। दलका नेताहरूमा आफूलाई केही असजिलो पर्यो कि भूराजनीतिक कारण भनिदिने बानी छ। देशमा संकट आइपर्दा कि भारत कि अमेरिका वा युरोपियन युनियन (ईयू) लाई देखाएर चोखिने प्रथा नेताहरूमा मौलाएको थियो।
यसलाई सहजै क्यास गरेका थिए रवि लामिछानेले। तर पछि यसमा बालेन्द्र साह (बालेन) जोडिए। अनि आम नागरिकमा थप भरोसा मिल्यो। यद्यपि रवि उक्त दलका सभापति भए पनि मधेश एकै पटक रास्वपा मय बनाउने मात्र होइन मुलुकभर जनलहर ल्याउन एक व्यक्तिमाथिको भरोसा पनि उत्तिकै छ। यही सोचेर उनी लचिलो बनेर बालेनलाई रास्वपामा ल्याएका हुन् भन्न सकिन्छ।
१. पुराना दलहरूको ‘म्युजिकल चेयर’ नेतृत्व संकट
शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालजस्ता सीमित अनुहारहरूबीच शक्ति घुमिरह्यो। नेतृत्वमा नयाँ पुस्तालाई निषेध गर्ने र सत्तालाई व्यक्तिगत स्वार्थको साधन बनाउने ‘म्युजिकल चेयर’ खेलले जनतामा चरम वितृष्णा जगायो। ओली र दाहाल त अझै पार्टीमा शासन चलाइरहेका छन्। दलभित्रको संघर्षबाट कांग्रेसमा केही परिवर्तन त आयो तर निर्वाचनमा उसको अवस्था हेर्दा त्यो समय ठिक नभएको जस्तो देखियो।
आमनागरिकले त्यसलाई रुचाएनन्। प्रमुख भनिएका दलमा नयाँ विचार, भिजन र पुस्तान्तरण रोकिएको थियो। पार्टीभित्रैबाट आएका सुधारका आवाजलाई दबाइएपछि आमनागरिकले निर्वाचनमार्फत त्यसको बदला लिएको देखिन्छ। एकपटक प्रधानमन्त्री भइसकेका नेतासमेत भाग नपाएपछि दल फुटाएर अर्को दल खोल्ने वा समाहित हुने जस्ता कार्यमा लागे। झलनाथ खनाल, माधवकुमार नेपालको प्रवृत्ति यस्तै देखियो।
नेताहरूमा आफैँ प्रमुख आकर्षण भइरहनुपर्ने, नेतृत्वमा बसिरहनुपर्ने विकृतिका कारण अहिलेको अवस्था व्यहोर्नुपरेको हो। पुराना दलभित्रका युवाहरूले समयमा दलमा धक्का दिन सकेनन्। दलले आफ्नो कमजोरीको आत्मसमीक्षा समयमा नगर्दाको परिणाम पनि हो यो। रास्वपा यिनै कमजोरीलाई परिवर्तनको अनुहार बनाएर फाइदा उठाउन सफल भएको छ।
जनता असफल अनुहारबाट आजित भएपछि रास्वपाका रवि लामिछाने, बालेन साहमा आशावादी बनेका हुन्। यद्यपि उनीहरूका पनि आआफ्ना कमजोरी नभएका होइनन्। नेता भनेको त्यो हो जसले आम नागरिकले सोच्ने भन्दा दश गुना बढी सोच्न सक्ने र मुलुकको परिस्थिति आकलन गर्न सक्ने हुनुपर्छ तर हामी त ‘विलो एभरेज’ तल्लो स्तरबाट शासित भएको अनुभूति भइरहँदा यो लहर आएको हो।
२. संस्थागत भ्रष्टाचार, कुशासन र नेपोबेबी संस्कृति
नीतिगत भ्रष्टाचार नेपालको राजनीतिक ‘क्यान्सर’ बन्यो। ठूला आयोजनामा ‘सेटिङ’ गर्ने, ठेकेदारलाई संरक्षण दिने र राज्यकोषको दोहन गर्ने प्रवृत्तिले विकासलाई कार्यकर्ता पोस्ने माध्यम मात्र बनायो। पुराना दलका शीर्ष नेतृत्वले ठूला काण्डहरूमा संरक्षण दिए, राज्यकोष दोहन गरे। मुलुकलाई ऋणमा पारे।
परियोजना तय गर्ने अनि त्यसमा ढिलाइ गर्दै रकम बढाउँदै लैजाने काम गरे। जसको उदाहरणमा पोखरा र लुम्बिनी विमानस्थल पर्छन्। त्यस्तै वषौँसम्म पूर्वपश्चिम राजमार्ग बनाउने निहुँमा अलपत्र पार्दै यात्रुलाई कहिले हिलो त कहिले धुलो खुवाएर विजोग बनाउँदा पनि सहनु पर्ने कुरा उठाए नेताकै ठूला गफ हुने। यसरी विकासका ठूला आयोजना निर्माण गर्दा ‘सेटिङ’मा काम गरे। आमनागरिकलाई जस्तोसुकै समस्या भए पनि नेताहरूले ठेकेदारलाई सधैँ संरक्षण गरिरहे।
यस्तै प्रकृतिको शासन मौलाउँदै जाँदा समस्या ज्यूँकात्यूँ रहेको हो। विकासका नाममा कार्यकर्ता पोस्ने प्रवृत्ति ज्यादा भयो। जेनजी आन्दोलनले नेताहरूका छोराछोरीको विलासी जीवन र आमजनताको विपन्नताको अन्तरलाई उजागर गर्यो। आफ्नो सचिवालयमा आफ्नै छोराछोरी, भाइभतिजा राख्ने चलन पनि मौलायो।
आफ्नै जनप्रतिनिधिलाई भेट्न समस्या देखिए। भेटेर समस्या राखेमा पनि काम हुन सकेन। कामको कुरा लिएर गएमा फाइदा कतिबाट सुरु हुने जस्ता कार्यले यो अवस्था आएको हो। रास्वपाले यही बेथिति विरुद्ध ‘सुशासन र जवाफदेहिता’ लाई मुख्य एजेन्डा बनाउँदा युवा र सचेत वर्गको मन जित्न सफल भयो।
३. वैदेशिक रोजगारीको बाध्यता, युवा पलायन र सरकारको उदासीनता
लाखौँ नेपाली युवा खाडी, मलेसिया, कोरियाजस्ता देशमा पसिना बगाउन बाध्य छन्। यहाँ अवसर नपाएर वा गाउँमा खेती किसानी गर्दा बजार नपाएर उनीहरू बिदेसिएका हुन्। नेताहरूले युवा परदेश जानुको पीडा बुझ्दैनन्। उल्टै विदेशबाट श्रमिकको कोटा ल्याएर त्यसमा कमिसन खान थाले। परराष्ट्रमन्त्री विदेश जाँदा मलाई यति श्रमिक भिसा दिनुपर्यो भनेर प्रस्ताव गर्न थाले।
पुराना दलहरूले पछिल्लो समयमा देखाएका अदूरदर्शी आर्थिक नीतिले स्वदेशमा रोजगारी सिर्जना गर्न सकेन। विदेशमा राम्रो शासन देखेपछि नेपालीले स्वदेशको कुशासन सहन सकेनन्। उनीहरूले परिवारलाई परिवर्तनका लागि भोट भन्ने दबाब दिए, जसले रास्वपाको आधार बलियो बनायो। विदेशमा रहेकाले ‘हामी चाहेर वा नचाहेर बाहिरियौँ’ तर नेपालमा यी पुरानाले थिति बसाउन सकेनन् ‘एक पटक परिवर्तनलाई भोट’ भने।
यो भनेको डिजिटल क्रान्तिको परिणाम पनि हो। यसलाई ‘टू डी’ भन्न पनि सकिन्छ- ‘डिजिटल र डायसपोरा’। ‘डायसपोरा’ले घरमा दबाब दिने र ‘डिजिटल’ माध्यमबाट पुराना दलले गरेको बेथिति देखाउने गर्दा आमनागरिक अब नयाँले केही परिवर्तन गर्छन् कि भन्ने अवस्थामा पुगेका हुन्।
राजनीतिक शास्त्रका विद्यार्थीको रूपमा यसलाई टेक्नो पपुलारिज वा डिजिटल पपुलारिजम पनि भन्न मिल्छ। किनकी यहाँ आफ्नो क्षेत्रको उम्मेदवार को हेरिएको छैन। केवल हेरिएको छ अबको प्रधानमन्त्री। पुराना अर्थात् जगडिएर बसेको दललाई बढार्न सक्ने माध्यम भनेकै टेक्नो पपुलारिजम नै हो। त्यसमा रास्वपा सफल भयो।
मुख्य दोष राज्यको नीतिगत असफलताको हो, जसले युवालाई विदेश पठाउन बाध्य बनायो। रास्वपाले यो मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित जनलहर बटुल्यो। यसमा रास्वपाले कसरी काम गर्छ त्यो त आगामी दिनमा देखिँदै जाला तर आमनागरिकले भने रास्वपा दल र दलबाट बन्ने प्रधानमन्त्री बालेन्द्र साह उर्फ बालेनलाई बढी भरोसा गरेका छन्। यद्यपि रवि उक्त दलका सभापति हुन। उनी लचिलो बनेर बालेनलाई रास्वपामा ल्याएका हुन्।
४. विचारहीन गठबन्धन, सिद्धान्तको तिलाञ्जलीको पीडामा मतदाता
पुराना दलहरूले सत्ता टिकाउन अप्राकृतिक गठबन्धन गरे, जसले सिद्धान्त बिर्सियो। मतदाताले आफ्नो आस्थाको चिह्नमा भोट हाल्न पाएनन्। यो कुनै नयाँ काम गर्नका लागि थिएन, देखिएका अनुहार सत्तामा टिकिरहनका लागि गरिएको चालबाजी थियो। जसले राजनीतिक वितृष्णा बढायो।
वर्षौं आफूलाई डेमोक्रेट अर्थात् कंग्रेस भनेर बसेकाले अर्को धार बोकेर हिडेका कम्युनिस्टका चुनाव चिह्वमा र कम्युनिस्ट भनेर बसेकाले कंग्रेसको चुनाव चिह्वमा मत दिन बाध्य पार्ने नेताहरूसँग आम नागरिक वाक्क भएका थिए। त्यो कुनै मुलुकमा परिवर्तन वा समृद्धिका लागि थिएन। थियो त केवल म्युजिकल चेयरमा रहेका नेताहरु त्यहाँ टिकिरहन मात्र।
गठबन्धनको दुष्प्रभावले पुराना दलहरूको आधार कमजोर बनायो। पुराना दलका नेतामा कारबाहीबाट बच्न सत्तालाई सुरक्षाकवच बनाउने प्रवृत्ति रहिरह्यो। उनीहरूले ठूलाठूला काण्डहरू छानबिन नै गराएनन्। फाइल थन्काए। जसले गर्दा युवामा आक्रोश देखियो। मताधिकार बन्धक बनेपछि जनताले विकल्प रोजे। रास्वपाको घण्टी चिह्नमा युवादेखि सडकमा व्यापार गरेर बस्नेहरूले समेत आशावादी बने। त्यसैले उनीहरूले उम्मेदवार हेरेनन्। घण्टी हेरेर भोट दिए।
५. युवा शक्तिलाई केटाकेटी ठान्नु, जेनजीमाथि दमन गर्नु
पुराना दलहरूमा युवालाई अवसर नदिने समस्या कायमै छ। पार्टी वृद्ध नेतृत्वले कब्जा गरेका छन्। युवाहरूलाई आफ्नो वरपर घुमाइरहेका छन्। युवा नेताहरू वयोवृद्ध नेतालाई भेट्न जाँदासमेत घण्टौँ कुराउने गर्छन्। जेनजी आन्दोलनले यो असन्तोषलाई विस्फोटक बनायो। सामाजिक सञ्जालमार्फत युवाले परिवारलाई प्रभावित गरे।
बालेनजस्ता युवा नेतृत्वले आवाज उठाए। उनीमाथि सधैँ आक्रोश पोखियो। उनी तिनै प्रधानमन्त्रीसँग भिड्न झापा पुगे। न त बालेनको पुर्ख्यौली घर झापा हो न उनी कहिल्यै त्यहाँ मज्जाले बसेका छन् तर उनी यी दम्भीसँग भिड्छु भनेर काठमाडौँको मेयर पद छोडेर पुगेका हुन्।
हुन त बालेनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर दलहरूलाई चुनौती दिएकै थिए। झापामा केपी शर्मा ओलीसँग भिड्नुअघि रास्वपामा विलय भए। उनी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिए। बालेनले झापा ५ मा आफूले मात्रै जितेनन्। चुनावअघि आफ्ना सबै नेतृत्वलाई उत्तिकै महत्त्व दिएर जिताउन लागिपरे।
यसमा मुख्य दोष पुराना दलहरूको हो, जसले युवालाई तिरस्कार गरे। यो पुस्ताको दबाबले रास्वपाको लहर तीव्र बनायो, विशेष गरी सहरी क्षेत्रमा। बिस्तारै त्यो लहर गाउँसम्म पुगेको निर्वाचन परिणामले प्रस्ट पारिसकेको छ। दललाई संस्थागत गरेर नलैजाने। दलभित्र विभाग बनाएर त्यस अनुसारको विज्ञ व्यक्ति राजनेता तय गर्ने सोच नै नराख्ने। सबै आफूले बुझेको र जानेको अन्तिम सत्य ठान्नु नै वर्तमान नेतृत्वको भुल हो।
६. राजनीतिक आन्दोलनहरूको प्रभाव र परिवर्तनको चाहना
२०४६ देखि गणतन्त्रसम्मका आन्दोलनहरूले राजनीतिक परिवर्तन ल्याए तर आर्थिक-सामाजिक सुधार भएन। शिक्षा, स्वास्थ्य, महँगी, रोजगारीमा सुधार नदेखेर जनता निराश भए। गत भदौमा भएको जेनजी आन्दोलनले यो चाहना उजागर गर्यो। रास्वपाले ‘काम र नतिजा’ को एजेन्डा (७ प्रतिशत आर्थिक वृद्धि, तीन हजार डलर प्रतिव्यक्ति आय) अघि सारेर यो अपेक्षा सम्बोधन गर्ने बाचा गर्यो। यसमा मुख्य दोष पुराना दलहरूको ‘गफको राजनीति’ को हो।
सीमापारि पाँच रुपैयाँ भारु अर्थात् आठ रुपैयाँमा किन्न पाइने अण्डा नेपालमा २२-२५ रुपैयाँसम्म पर्छ। अनि ठूला बहुदेशीय कम्पनी नेपाल आउन लागेमा नेपालमा सबै ध्वस्त हुन्छ भन्ने सोच नेताहरूमा देखिँने अनि अमुल र अन्य कम्पनि नेपाल भित्रिन नदिने। सानो सानो साेच देखाउने। विदेशी कम्पनी नेपालमा आए सबै उताकै सामान वेच्छ भनिदिने। तर उसले तयार गर्न यहीको किसानको दुध लिन्छ भन्ने हेक्का नराख्ने।
उता किसानको दूध त्यसै खेर जाँदा चासो छैन। उद्योग खोल्न प्रोत्साहन गरिँदैन। निजी क्षेत्रलाई चुस्ने प्रवृत्ति छ। कर तिर्छु भन्दा पनि सजिलै पाइँदैन। उच्चशिक्षाका लागि विदेश जाँदा युवाले प्रक्रियागत जटिलता भोगिरहेका छन्। सवारी चालक अनुमति पत्र लिनका लागि धाउन पर्ने दलेको भर पर्न पर्ने। यसवाट युवाहरु वाक्क दिक्क भएका थिए। सामान्य सुधार पनि नगर्ने र आम नागरिकलाई दुख दिइरहने अनि कर असिमित असुल्ने बानीले पनि यस्तो समस्या भएको हो।
७. कर्मचारीतन्त्रमा रहेको अक्षमता र चरम राजनीतिक संरक्षण
कर्मचारीतन्त्र र उनीहरूको संकीर्ण सोच अर्को प्रमुख समस्या हो। उनीहरूले सेवाग्राहीसँग गर्ने व्यवहार पनि अर्को समस्या हो। राजनीतिक हस्तक्षेपले यसलाई पक्षपाती र अक्षम बनाएको भनिए पनि कर्मचारी आफैँ सुधार हुन चाहेको देखिँदैन। लोकसेवा पास गरेपछि सबै थोकमा आफैँ योग्य भएको सोच राख्ने र कमाउने लाइसेन्स पाएको आम नागरिकको म नै मालिक हुँ भन्ने सोच अधिक कर्मचारीमा हुनु पनि अर्को कारण हो।
पुराना दलहरूले यसलाई सुधार्न सकेनन्, जसले कुशासन बढायो। पुराना दलका नेताहरूको भन्दा बढी छानबिन कर्मचारीको गर्नुपर्ने देखिन्छ। कर्मचारीले नयाँ प्रणाली अपनाउन नदिने, सबै काममा प्रक्रियागत जटिलता बनाउने र कानुनी छिद्र प्रयोग गरी टेबुलमुनिबाट ‘घुस’ बुझ्ने गरेको कतै छिप्दैन। यो कुराको जानकारी व्यापारीलाई धेरै होला। किनभने झन्झटमा परिएला भनेर व्यवसायीले यस्ता कुरामा आँखा चिम्लेका हुन्छन्।
औषधी निर्माण गर्ने कम्पनी होस् या कुनै अन्य सामान्य कम्पनी सबैमा कर्मचारीले कि केही हिस्सा खोजेका हुन्छन् कि काममा ढिलाइ गरेर नगद बुझेका हुन्छन्। अनि कर्मचारीको कानुन यस्तो छ कि एकले अर्कोको संरक्षण गर्न सक्ने। कतैबाट पनि कर्मचारीलाई निकाल्न नसकिने गरी कानुन बलियो बनाइएको छ। आधा कर्मचारी आवश्यक छैनन्। तर पनि नपुगेको भन्दै करारमा राखेर लोकसेवाबाट ट्रेडमार्क लागेकाहरु गफ चुटिरहेका कैयन् कार्यालयमा देख्न सकिन्छ।
एक स्थानमा डकुमेन्टेसन भए हुनेमा कैयन स्थानमा डकुमेन्ट बोकेर सेवाग्राही खाली कुर्ची अगाडि वा झ्यालमा उभिन पर्छ। कर तिर्छु भनेर जाँदा समेत त्यो हैरानी ब्यहोर्न पर्ने अवस्था छ। फोनबाट कर लिने भन्छन अनि तिर्यो त्रयसको प्रिन्ट निकालेर लैजान पर्ने अवस्था छ। मोवाइलमा देखाएर हुन्न उनीहरुले त्यहाँ कम्प्युटरमा हेर्न भ्याउँदैनन रे। अनि मोबाइलसँगै प्रिन्टर पनि बोकेर हिड्ने? हो युवाहरु यस्तैमा आक्रोसित भएका हुन्।
पासपोर्ट दिन्छन विश्वकै आधुनिक तर पाना सकिएर जाँदा फेरी सबै प्रक्रिया गर्नपर्छ। मिति छ पान सकिए पछि पुरानैबाट दिए हुन्छ। तर सबै नयाँ नै गर्न पर्ने। अलिक सुधार भनिएकै पासपोर्टमा त यस्तो छ अन्यको त के कुरा गर्नु? सरकारी कार्यालयमा कामका लागि गएमा वा सडकमा उभिएर नियाल्दा हामी ‘कविला राज्य’मा भएको भान हुन्छ। सबै थोक छ तर गाम्भीर्यता र जिम्मेवारी पन छैन।
यसो भनिरहँदा मुलुक नै नबनेको भन्ने होइन बनेको छ विकास पनि भएको छ। तर सामान्य सुधारका विषयमा ध्यान दिइएन भन्न खोजेको हुँ। अनि सबै कर्मचारीले गर्दा भएको भन्न खोजेको पनि होइन कर्मचारीले सधै भन्ने राजनीतिक इच्छा शक्ति भन्ने हो तर त्यसको लागि इमानदार भएर राजनीतिक नेतृत्वसँगको भिडेको छ। सेवा निवृत्त पछि पनि पद केही पाइन्छ कि भनेर राजनीतिक नेताको चरणमा नै परिरहने अनि केही नपाएपछि बल्ल विवेकका कुरा सञ्जालमा पोख्ने विद्वान कर्मचारी अहिले पनि छन्।
निष्कर्ष
रास्वपामा आएको जनलहर पुराना दलहरूको कमजोरीको ऐना हो। म्युजिकल चेयर, भ्रष्टाचार, स्वार्थकेन्द्रित गठबन्धन र युवा तिरस्कारका कारण नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले जनताको विश्वास गुमाए। तर यो लहरलाई दिगो परिवर्तनमा बदल्न र यसबाट पाठ सिक्न सबै सचेत हुनुपर्छ।
रास्वपाभित्र पनि पुराना दलमा भ्रष्टाचार गर्ने अवसर नपाएका वा पाएर यता विवादमा पर्ने भएपछि पसेका नेता र कर्मचारीतन्त्रमा अकुत सम्पत्ति कमाएर जोगिन राजनीति रोजेर पसेकाहरू छन्। त्यसलाई निगरानीमा राखेर काम अघि बढाउन आवश्यक छ। गठबन्धनको सिन्डिकेट अस्वीकार गर्नु विवेकले मात्र भोट दिने बानी बसाल्न पनि रास्वपाले त्यसअनुरूपको काम गरेर देखाउनुपर्छ।
वैदेशिक सहयोग प्रशासनमा कति खर्च हुने र काम कति हुने भन्नेमा ध्यान दिएर लिन आवश्यक देखिन्छ। निर्वाचन आयोगमा मिडिया जनचेतनामा आएको करिब ४२ करोड यही निर्वाचनमा खै कसरी प्रयोग भयो भन्नेमा आयोगका असन्तुष्ट कर्मचारी बताइरहेका छन्। यहाँ पनि नयाँ पुस्ताकाहरु पसेर त्यसमा कागज मिलाएको उजुरी परेका छन्। यो पछिल्लो पुस्तामा पनि मौलाएको एउटा सानो उदाहरण हो।
अनुहारभन्दा एजेन्डा र कार्यक्षमता हेरेमा मात्र रास्वपाको पारदर्शिता, प्रतिबद्धता र पुरानै पदचापमा नलाग्ने परीक्षामा उत्तीर्ण हुन आवश्यक छ। पुरानाले नि मुलुक लुटेकै हुन हामीले किन नलुट्ने भन्ने तिर लागेमा भन्नु केही छैन। तर दलभित्रै पनि निरन्तर खबरदारी आवश्यक देखिन्छ। भ्रष्टाचार, गलत निर्णयविरुद्ध सधैँ प्रश्न उठाउनु, निर्वाचनमा मात्र होइन दैनिक जीवनमा।
कर्मचारीतन्त्र सुधार्न दबाब दिन आवश्यक देखिन्छ। कर्मचारी तन्त्रमा सेवा सुविधा बढाउने तर संख्या घटाउन आवश्यक छ। अनि कम मन्त्रालय, कामको डुप्लिकेसन हुने निकाय बन्द गर्ने, विश्वको राजनीतिक खेलाडी नहुँदा सम्म कन्सुलर सेवाकै लागि मात्र अधिकतम दूतावास पनि आवश्यक देखिदैन। प्रभावकारी तर कम दूतावासको सोच राख्ने। तर हाम्रो भूराजनीति सहज नहुँदा हामी कूटनीतिमा सचेत हुन आवश्यक छ। यद्यपि हामीले हाम्रो स्वार्थलाई ध्यानमा राखेर तय भएका नीतिलाई नै राम्रोसँग कार्यावन्यनमा ल्याउने हो भने समस्या नै हुँदैन।
हामी स्पष्ट छौँ- हाम्रो कूटनीति छिमेकबाट सुरु हुन्छ। हामीले छिमेक र क्षेत्रीय संगठन पछि अन्यलाई राखेका छौँ। तर अन्य मित्र मुलुकहरूसँग पनि छिमेकलाई असर नहुने गरि सहकार्य गर्न सकिन्छ। तर सहकार्य गर्दा हामीले लिने नीति असंलग्नतालाई भुल्न हुन्न। हाम्रो नीतिमा समस्या होइन कार्यावन्नय र स्थायीत्वमा समस्या हो। यसमा रास्वपाले ध्यान दिन सक्नुपर्छ। एकको विरुद्ध अर्को अनि जथाभावि बोल्ने जस्ता विषयमा सचेत भएमा समस्या हुन्न।
कर्मचारीमा राजनीतिक हस्तक्षेप रोक्ने। दलै पिच्छेको संगठन बनाउन नदिने। काममा गुनासा आएमा कारबाही गरिहाल्ने। बदमासी गर्ने कर्मचारी हुन वा आम नागरिकहरूलाई पासपोर्टका लागि र सरकारी कामकाजको लागि अयोग्य ठहर गर्ने। आमनागरिकको क्षमता विकास र जवाफदेहिता सुनिश्चित गर्दै लैजाने। नागरिकलाई जिम्मेवार बनाउने कार्यक्रम ल्याउने। विचौलियाको चंगुलबाट आगामी सरकारलाई टाढा राख्न सके मात्र रास्वपा माथिको आम विश्वास सार्थक हुनेछ।
माथिका विषयमा ध्यान दिदैँ युवा अपेक्षा रोजगारी, शिक्षा, स्वास्थ्यमा ठोस नतिजा दिन सकेमा रास्वपा साँच्चै माथि जानेछ। आर्थिक संकट, प्रवासी मतको अपेक्षा, आन्तरिक स्थिरता र सहज सरकार सञ्चालन जस्ता विषयमा रास्वपाले सम्बोधन गरेन भने अर्को विद्रोह आउन सक्छ। लोकतन्त्रमा मतदाता निर्णायक हुन् यो परिवर्तनलाई सकारात्मक र दिगो बनाउने जिम्मा आम नागरिकको विश्वास पाएको दलको काँधमा छ। समयले परिवर्तन मागिरहेको हुन्छ नै, तर सोचेको भन्दा बढी माया-विश्वास पाएको रास्वपाले यो अवसर र परिवर्तनलाई चटके/ दोक्लाबाट बचाउँदै राष्ट्र र नागरिक हितमा इमानदार भएर अघि बढ्न सक्नुपर्छ। धेरै शुभकामना!






