रास्वपालाई ‘म’ होइन ‘हामी’को संस्कारमा रूपान्तरण गर्न रविको आग्रह

हिमाल प्रेस २३ जेठ २०८३ १५:२० | Saturday, June 6, 2026
16
SHARES
रास्वपालाई ‘म’ होइन ‘हामी’को संस्कारमा रूपान्तरण गर्न रविको आग्रह रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन प्रक्रियालाई लोकतान्त्रिक, सुसंस्कृत र सन्देशमूलक बनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत शनिबार पार्टीका नेताकार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको तथा जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुन लागेको उल्लेख गरेका छन्। उनले अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

उनले पार्टीको हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्ने बताएका छन्। यस्ता प्रक्रियाले पार्टीलाई थप बलियो र परिपक्व बनाउने उनको भनाइ छ।

लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिइएको भन्दै विचारसँगै राजनीतिक शैली, व्यवहार र संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिएका छन्। पुरानै सोच, शैली र प्रवृत्तिका आधारमा नयाँ राजनीतिक शक्ति बन्न नसकिने उनको तर्क छ।

उनले स्थापनाकालमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक ठानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन्। चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताजनक भएको उल्लेख गर्दै समयमै सच्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

त्यस्तै, पार्टी जिम्मेवारीलाई भविष्यको संसदीय अवसरसँग जोडेर नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले यस्ता अभ्यासलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियामार्फत न्यूनीकरण गर्नुपर्ने बताएका छन्।

लामिछानेले रास्वपा आजको अवस्थामा पुग्नु केही व्यक्तिको योगदानले मात्र नभई मतदाताको विश्वास र पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणका कारण सम्भव भएको बताए। पुराना सदस्यहरूले निर्माण गरेको आधारमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीलाई यहाँसम्म ल्याएको उनको भनाइ छ।

उनले अब रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति बन्ने रहेको उल्लेख गर्दै पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने बताएका छन्। संगठन विस्तारसँगै व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्। ‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ,’ लामिछानेले भनेका छन्।

पहिलो महाधिवेशन प्रक्रियालाई सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनाउन सबै नेताकार्यकर्तालाई उनले आह्वान गरेका छन्।

प्रकाशित: २३ जेठ २०८३ १५:२० | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast