काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताइका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सरकार आफ्नो नीति र जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताए।
उनले लोकतान्त्रिक पार्टी भएकाले आफ्नै सरकारका कामकारबाहीबारे नेता तथा सांसदहरूले फरक–फरक शैलीमा धारणा वा आलोचनात्मक विचार आउनु स्वाभाविक भएको धारणा राखे।
उनले रसुवा बाढीपछि प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा वडाध्यक्षहरूसम्म प्रत्यक्ष सम्पर्क एवं गहन छलफल गरी संवेदनशीलता देखाएको बताए।
पार्टीको जिम्मेवारी पार्टी नेतृत्वले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने गरी स्पष्ट कार्यविभाजन गरिएको हुँदा एउटै व्यक्ति सबैतिर उपस्थित हुन खोज्नु आवश्यक नरहेको उनले बताए।
सभापति लामिछानेले सरकारले सुरुवाती चरणमै खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिएर युद्धस्तरमा काम गरेको दाबी गरे।
उनले भौगोलिक जटिलताका बाबजुद राहत वितरण जारी रहेको र अब दीर्घकालीन पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजनासहित फिल्डमा खटिएको उल्लेख गरे।
सर्वदलीय बैठकबाट पारित विषयहरूलाई सरकार वा दलहरूले अपनत्व नलिने भन्ने प्रश्नै नउठ्ने उनको भनाइ छ।


