एफपी
काठमाडौँ- ककरोच जनता पार्टी (सीजेपी) ले शनिबार भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शन गरेको छ। सीपीजीले नयाँदिल्लीको जनतर मन्तरमा धर्ना दिएर प्रदर्शन गरेको हो।
धर्नामा हजारौँ युवाहरू पुगेका छन् र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनमा माग गरिरहेका छन्।
ककरोच जनता पार्टीलाई दिल्ली प्रहरीले जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको छ। अमेरिकाबाट दिल्ली आइपुगेका सीजेपीका संस्थापक इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जन्तर मन्तर पुगेका थिए।
सीजेपीले प्रदर्शनमा सहभागी हुन आउनेहरूका लागि एउटा अनौठो सूची पनि जारी गरेको छ। सीपीजेले मानिसहरूलाई आफूसँगै एउटा किताब र भारतको झन्डा लिएर आउन अपिल गरेको छ। साथै दिल्लीको गर्मीलाई ध्यानमा राख्दै सनस्क्रिन लगाउन, पानीको बोतल बोक्न र टोपी लगाएर पनि अनुरोध गरिएको छ।
यसबाहेक युवाहरू एक्लै नभई आफ्नो परिवारलाई साथमा लिएर आउन, प्रहरीसँग विनम्र व्यवहार गर्नलगायतका अनुरोध गरिएको छ।
प्रवेश परीक्षाहरूमा भएका अनियमितताबाट आक्रोशित ठूलो संख्यामा युवाहरू जन्तर मन्तर पुगेका छन्। परीक्षा प्रणालीबाट आफूहरूको विश्वास उठिसकेको र सीजेपीको यो प्रदर्शनमा समर्थन जनाउन सहभागी भएको बताएका छन्।
सीजेपीले आफ्ना समर्थक र प्रदर्शनकारीहरूलाई सिधै जन्तर मन्तर पुग्न अपिल गरेको छ। प्रदर्शनकारीको प्रमुख माग केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो।
सीजेपीले शिक्षामन्त्री प्रधानलाई अयोग्य ठहर गर्दै कि त उनले राजीनामा दिनुपर्ने कि प्रधानमन्त्री मोदीले बर्खास्त गर्नुपर्ने माग गरेको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानसहित कैयौँ विशिष्ट नेताहरूको आवासबाहिर सुरक्षा सतर्कता बढाइएको छ।
सीजेपीको सुरूवात एउटा व्यङग्यात्मक अनलाईन आन्दोलनका रूपमा भएको थियो। भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एक मुद्दाको सुनुवाइका क्रममा बेरोजगार युवाहरूको एउटा वर्गलाई ‘ककरोच’ सँग तुलना गरेका थिए।
यो टिप्पणीपछि सामाजिक सञ्जालमा व्यापक बहस भयो र पछि यसैबाट प्रेरित भएर यो व्यङ्ग्यात्मक राजनीतिक आन्दोलनको आरम्भ भयो। यस आन्दोलनलाई कैयौँ सार्वजनिक हस्तीहरूले पनि समर्थन गरेका छन्। सामाजिक कार्यकर्ता सोनम वाङ्चुक र अभिनेता प्रकाश राज जस्ता व्यक्तिहरूले आन्दोलनप्रति समर्थन जनाएका छन्।




