मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन देउवाको आग्रह

हिमाल प्रेस १६ फागुन २०८२ २१:३० | Saturday, February 28, 2026
40
SHARES
मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन देउवाको आग्रह शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मध्यपूर्वमा पछिल्लो समय विकसित तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

सभापति देउवाले शनिबार एक सन्देश जारी गर्दै त्यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेका हुन्। देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यपूर्वमा विकसित घटनाक्रमले ती देशहरूमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन र स्थानीय प्रशासनले जारी गरेको सुरक्षाको प्रोटोकल पूर्ण रूपमा पालना गर्नुहुन अनुरोध गर्दछु।’

त्यस्तै देउवाले विदेशमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई विशेष कदम चाल्नसमेत आग्रह गरेका छन्। ‘नेपाल सरकार र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक संयोजन तथा सहयोगका लागि क्रियाशील हुन आग्रह गर्दछु’, देउवाको सन्देशमा उल्लेख छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो सैन्य आक्रमणपछि मध्यपूर्वमा युद्धको खतरा बढेको छ। यस परिस्थितिमा त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूको सुरक्षालाई लिएर सर्वत्र चिन्ता व्यक्त भइरहेका बेला पूर्वप्रधानमन्त्री देउवाको यो आग्रह आएको हो। देउवा हाल स्वास्थ्य उपचारका लागि सिंगापुरमा छन्।

प्रकाशित: १६ फागुन २०८२ २१:३० | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast