‘ट्रम्प ट्रेड’ को अन्त्य

हिमाल प्रेस १३ फागुन २०८२ १५:४० | Wednesday, February 25, 2026
4
SHARES
‘ट्रम्प ट्रेड’ को अन्त्य एआईको सहयोगमा तयार पारिएको प्रतीकात्मक तस्बिर।

‘ट्रम्प ट्रेड’ अब सकियो। अब ‘एन्टी-ट्रम्प ट्रेड’ को उदय भएको छ। वित्तीय बजारमा जहाँ हेरे पनि यस्ता संकेत देखिन्छन्। विश्वव्यापी लगानीकर्ताहरू डोनाल्ड ट्रम्पको अमेरिकालाई बेवास्ता गर्न हरसम्भव प्रयास गरिरहेका छन्।

लगानीकर्ताहरू निराश छैनन्। उनीहरू त्यस्तो अवस्थाबाट धेरै टाढा छन्। लगानीकर्ताहरूमाझ गरिएका सर्वेक्षणलाई आधार मान्ने हो भने जोखिमपूर्ण सम्पत्तिप्रति उनीहरूको उत्साहको स्तर अहिले पनि करिब त्यति नै छ, जति सन् २०२४ को अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुँदाको समयमा थियो।

त्यो उत्साहको स्रोत र बजारमा यसको प्रकट हुने शैली भने पूर्ण रूपमा उल्टिएको छ। सन् २०२४ को अन्त्यतिर यो उत्साह नयाँ अमेरिकी प्रशासनप्रतिको एउटा ठूलो गर्व र आत्मविश्वास थियो। यसले नियमनहरू हटाउन र अर्थतन्त्रलाई प्रोत्साहन दिएर विश्व अर्थतन्त्र र बजारमा एकछत्र प्रभुत्व जमाउन तयार देखिएको थियो। त्यति बेला अमेरिकाले बाँकी विकसित विश्वको अर्थतन्त्रको जग हल्लाएर त्यहाँको आर्थिक वृद्धिलाई आफूतिर तान्ने, डलरको मूल्य बढाउने र अमेरिकी सेयरहरू तथा अन्य देशका निराशाजनक बजारबीच एउटा ठूलो खाडल सिर्जना गर्ने मार्गमा रहेको रूपमा हेरिएको थियो।

ट्रम्प दोस्रो कार्यकालको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी जे देखिरहेका छौँ, त्यो निकै भिन्न छ। बजारको त्यो उत्साह अझै पनि कायमै त छ। यो अहिले पूर्ण रूपमा भिन्न ठाउँहरूमा देखिन थालेको छ।

यसको सबैभन्दा सहज मापन सेयर बजारको प्रदर्शनमा देख्न सकिन्छ। अमेरिकाको बेन्चमार्क ‘एस एन्ड पी ५००’ सूचकांक अहिले यस वर्षका लागि सामान्य ऋणात्मक अवस्थामा छ, जुन डिसेम्बर अन्त्यदेखि एउटा असामान्य र साँघुरो दायरामा बिस्तारै तलमाथि गरिरहेको छ। सामान्यतया यस्तो हुनुले विश्वभरि लगानीकर्तामा डर वा चिन्ता फैलिएको संकेत गर्थ्यो। यसपटक यो स्थिति पूर्ण रूपमा अमेरिकामा मात्र केन्द्रित छ, जसको मुख्य कारण त्यहाँको बहुप्रतीक्षित प्रविधि क्षेत्रमा देखिएको दबाब र नीतिगत कार्यशैलीमा आएको अवरोध हो। यसविपरीत युरोपेली र एसियाली बजारहरू भने धेरैजसो राम्रै गरिरहेका छन्।

विश्वव्यापी सेयर बजार हेर्ने हो भने व्यापक रूपमा पछ्याइने एमएससीआई वर्ल्ड इन्डेक्स (जसमा अमेरिकी बजारको बाहुल्य छ) सन् २०२६ मा अहिलेसम्म दुई प्रतिशतले बढेको छ। यो ठिकै हो। यसबाट अमेरिका हटाएर हेर्ने हो भने बाँकी विश्वको बजार निकै उत्साहजनक रूपमा नौ प्रतिशतले बढेको देखिन्छ। वास्तविकता के हो भने अहिलेको समयमा अमेरिकी बजारलाई बेवास्ता गर्नु वा त्यसबाट पन्छिनु फाइदाजनक देखिएको छ।

यस वर्ष अमेरिकी सेयर बजारका लागि सन् १९९५ यताकै बाँकी विश्वको तुलनामा सबैभन्दा खराब वर्ष बन्ने देखिँदै छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित सेयरहरूमा हालै देखिएको गिरावट अर्थपूर्ण साबित हुनेछ भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन तर समग्र प्रविधि क्षेत्रमा एआईको प्रभावलाई लिएर फैलिएको त्रासले बजारको सन्तुलन अमेरिकाबाट टाढा र युरोपतिर धकेल्न मद्दत गरिरहेको छ।

सन् २०२५ मा विगतका केही दशकदेखि धेरैजसो पोर्टफोलियोको आधारस्तम्भ रहँदै आएको अमेरिकी बजारप्रतिको विश्वव्यापी लगानीकर्ताहरूको निर्भरतामा आउने भनिएको सुधार वा सामान्यीकरण वास्तविकताभन्दा बढी एउटा अवधारणा मात्र थियो। तर अहिले ‘बैंक अफ अमेरिका’ ले लगानीकर्ताहरूमाझ गर्ने नियमित सर्वेक्षणले युरोपेली सम्पत्तिहरूमा अहिलेसम्मकै सबैभन्दा ठूलो सकारात्मक बाँडफाँट भएको देखाउँछन्, जुन एक प्रभावशाली विश्वव्यापी सन्तुलन हो।

बैंकको युरोपेली सर्वेक्षणअनुसार अहिले एकतिहाईभन्दा बढी लगानीकर्ताले युरोपेली सेयरहरूमा बेन्चमार्कले सुझाव दिएभन्दा बढी लगानी गरेका छन्, जुन तीन महिनाअघि नौ प्रतिशत मात्र थियो। त्यसैगरी अहिले खुद २२ प्रतिशत लगानीकर्ताले अमेरिकामा बेन्चमार्कभन्दा कम लगानी गरेको बताएका छन्, जुन सन् २०२५ को अन्त्यमा मात्र ६ प्रतिशत थियो।

अमेरिकी बजारबाट पैसा ह्वारह्वार्ती बाहिरिहालेको त छैन तर बैंकर र लगानीकर्ताहरूका अनुसार वित्तीय प्रणालीमा आउने नयाँ लगानीले भने अब नयाँ गन्तव्य खोजिरहेको छ। यस सन्दर्भमा गत साता भन्सार शुल्कको मामिलामा ट्रम्पको शक्तिमाथि अंकुश लगाइँदासमेत अमेरिकी बजारहरूले पुरानै लयमा फर्किने कुनै संकेत देखाएनन्। विश्व अब बिस्तारै तर निश्चित रूपमा अगाडि बढिरहेको छ।

युरोप एकमात्र लाभग्राही होइन, तर यो अग्रपंक्तिमै छ। फ्रान्सेली सम्पत्ति व्यवस्थापक ‘कार्मिन्याक’ ले यसलाई निदाएकी सुन्दरी बिउँझिएको घटनासँग तुलना गरेका छन्, जहाँ संरचनात्मक र आर्थिक दुवै कारकले युरोपलाई सहयोग पुऱ्याइरहेका छन्। प्रविधि क्षेत्रबाट आफ्नो लगानी विविधीकरण गर्न र अमेरिकाको आन्तरिक राजनीतिक जोखिमबाट बच्न खोज्ने लगानीकर्ताबाट अहिले युरोपेली स्टक फन्डहरूमा कीर्तिमानी रकम भित्रिरहेको छ।

लगानीकर्ता र विश्लेषकहरूले जर्मन अर्थतन्त्र सुधारको बाटोमा फर्किएको अनुमान गर्न थालेका छन्। जर्मनीले घोषणा गरेको एक वर्षदेखि रोकिएर बसेको ठूलो मात्राको थप वित्तीय खर्चको योजना अहिले कार्यान्वयनमा ल्याउन थालेको छ। युरोजोनका व्यावसायिक सर्वेक्षणहरू निकै उत्कृष्ट नभए पनि उत्साहजनक देखिएका छन्।

अर्कोतर्फ हालै सार्वजनिक भएको तथ्यांकअनुसार अमेरिकी अर्थतन्त्र भने पहिले सोचिएभन्दा निकै सुस्त गतिमा अगाडि बढिरहेको छ, जुन युरोपको जस्तै वार्षिक १.४ प्रतिशतको सामान्य दरमा सीमित देखिएको छ।

बितेको एक दशक वा सोभन्दा बढी समयदेखि अमेरिकी लगानीको चामत्कारिक सफलतामा प्रविधि क्षेत्रको असाधारण प्रदर्शनको ठूलो हात थियो। तर अहिले आर्थिक तथ्यांकहरू दबाबमा परेको र राजनीति एकपछि अर्को संकटमा फसेका बेला प्रविधि क्षेत्र पनि धर्मराउन थालेको छ। लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित ठाउँमा सारेर आफ्नो निर्णय सुनाइरहेका छन्। अमेरिकी कोष व्यवस्थापकहरूले बारम्बार बेवास्ता गर्दै आएको यो ठूलो परिवर्तन अहिले स्पष्ट रूपमा भइरहेको छ- चाहे उनीहरूलाई यो मन परोस् वा नपरोस्।

केटी मार्टिनद्वारा लेखिएको यो सामग्री फाइनान्सियल टाइम्सबाट अनुवाद गरिएको हो।

प्रकाशित: १३ फागुन २०८२ १५:४० | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast