बेइजिङ-चीनको खुनिमङमा जारी खुनमिङ औषधि मेला २०२६ मा जडीबुटीको प्रदर्शनसहित नेपालले सहभागिता जनाएको छ। खुनमिङ चिनियाँ औषधीजन्य सामग्री (जडीबुटी) उद्योग अन्तर्राष्ट्रिय प्रदर्शनी र चिनियाँ औषधिका लागि केन्द्रीकृत खरिद र आपूर्ति शृंखला सम्मेलन, जसलाई ‘खुनमिङ औषधि मेला’ पनि भनिन्छ। यसको मुख्य विषय ‘स्थानीय औषधीय जडीबुटीको गुणस्तर सुधारेर सम्पूर्ण आपूर्ति शृंखलाको विकासलाई सशक्त बनाउनु’ रहेको छ।
तीन दिनसम्म चल्ने मेलामा नेपालका तर्फबाट जडीबुटी व्यवसायी महासंघले नेपालको जडीबुटीजन्य उत्पादनलाई प्रदर्शनीमा राखेको छ। शुक्रबार आयोजित उद्घाटन सत्रमा नेपालका तर्फबाट चीनका लागि बेइजिङस्थित नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालको जडीबुटीमा चिनियाँ प्रविधिको महत्त्व विषयक विस्तृत प्रस्तुति दिएकी छन्।
उद्घाटन सत्रमा चिनियाँ तथा विदेशी गरी करिब एक हजार सरकारी अधिकारी, कूटनीतिज्ञ, अनुसन्धानकर्ता एवं जडीबुटी सम्बद्ध व्यवसायी र लगानीकर्ताहरुको सहभागिता थियो। कार्यक्रमको संयोजन चीनको युननान प्रदेशस्तरीय कृषि विभागका महानिर्देशक ली यानले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि चिनियाँ कम्युनिस्ट पार्टीका सहसचिव तथा उपगभर्नर वाङ स्याङआङसहित अतिथिका रुपमा विभिन्न विभाग र अनुसन्धान केन्द्रका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो।
कार्यक्रममा चिनियाँ उच्चस्तरीय सरकारी अधिकारीहरूले चीनले जडीबुटीको क्षेत्रमा भइरहेको प्रगति, युननान प्रदेशको सम्भावना र दक्षिण एसियाली देशहरुसँग चीनको साझेदारीको विषयमा मन्तव्य र प्रस्तुति दिएका थिए। विदेशी मुलुकहरुका तर्फबाट भने नेपाललाई मात्र प्रस्तुतिको अवसर दिइएको थियो।
इकोनोमिक मिनिस्टर पार्वती अर्यालले जडीबुटी नेपालको तुलनात्मक लाभ राखेको क्षेत्र भएको औँल्याउँदै चिनियाँ प्रविधि, नवप्रवर्तन तथा लगानीले रूपान्तरणकारी अवसरहरू सिर्जना गर्न सक्ने विषयहरू समेटिएर आफ्नो प्रस्तुति राखेकी थिइन्।
अर्यालले जडीबुटी औषधि, न्युट्रास्युटिकल्स, आरोग्यसम्बद्ध वस्तुको उत्पादन, पोषण आहार, प्राकृतिक सौन्दर्य प्रसाधन र वनस्पतिजन्य स्वास्थ्य समाधानको विश्वव्यापी माग द्रुत गतिमा बढिरहेको बताउँदै नेपालमा चिनियाँ प्रविधि, नवप्रवर्तन र लगानी बढाउन आह्वान गरिन्।
नेपालको लगानीमैत्री नीति र वातावरणको विषयमा समेत उनले उल्लेख गरिन्।
अर्यालले नेपालको जडीबुटीको स्रोत नक्सांकन, दिगो खेती, करार खेती, प्राथमिक प्रशोधन, प्रत्यायित प्रयोगशाला परीक्षण, मापदण्डीकरण, प्रमाणीकरण, उत्पादन तर्जुमा, प्याकेजिङ र विश्व बजारमा प्रत्यक्ष पहुँच मार्फत साझा भविष्य निर्माण गर्न सकिने विषयमा सहकार्यका लागि अपिल पनि गरिन्।
नेपालको तराईदेखि मध्यपहाड हुँदै हिमाली क्षेत्रसम्मको भौगोलिक विविधताका कारण नेपालसँग जडीबुटी क्षेत्रमा बलियो प्राकृतिक आधार रहेको छ, जसले विभिन्न प्रकारका औषधीय तथा सुगन्धित वनस्पतिहरूलाई सहयोग पुर्याएको अवस्था छ।
तथ्यांकअनुसार नेपालमा ६ हजार नौ सय ७३ उच्च वनस्पति प्रजाति, करिब सात सय औषधीय वनस्पतिका प्रजाति र परम्परागत रूपमा औषधिका रूपमा प्रयोग हुने करिब दुई सय ५० प्रजाति रहेका छन्। यो क्षेत्र करिब तीन लाख परिवारको जीविकोपार्जनसँग पनि जोडिएको छ, जसले जडीबुटी उद्योग विकासलाई आर्थिक र ग्रामीण विकास दुवैको अवसर बढाउने सम्भावना बोकेको छ।
नेपालमा उच्च मूल्यका निर्यातयोग्य जडीबुटीजन्य वस्तुहरूमा यार्सागुम्बा, जटामसी, नेपाली कुटकी, सातुवा, ककोली, गनोडर्मा, गुच्छी च्याउ र औषधीय अर्किड पर्दछन्। उच्च परिमाणमा व्यापारिक रूपमा प्रयोग हुने वस्तुहरूमा तेजपात, रिठ्ठा, टिमुर, चिराइतो, अमला, दालचिनी र सुगन्धवाला पर्दछन्।
यी कच्चा पदार्थबाट औषधीजन्य क्याप्सुल र ट्याब्लेट, हर्बल एक्स्ट्र्याक्ट पाउडर, एसेन्सियल ओएल, हर्बल चिया, कस्मेटिक्स तथा स्किनकेयर, फंक्शनल फुड र वेलनेस पेय पदार्थ उत्पादनका लागि चीनबाट प्रविधि हस्तान्तरण गर्ने उत्तम अवसर रहेको छ।
विश्वव्यापी जडीबुटी औषधि बजार सन् २०२५ मा अमेरिकी डलर २५१.२४ अर्बबाट सन् २०३४ सम्ममा अमेरिकी डलर ५१५.९२ अर्बसम्म पुग्ने प्रक्षेपण गरिएको छ, जसको अनुमानित वार्षिक चक्रवृद्धि वृद्धिदर ८.३७ प्रतिशत रहेको छ। यो वृद्धिले जडीबुटी औषधीजन्य वस्तुहरू बलियो दीर्घकालीन बजार सम्भावनासहितको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका रूपमा स्थापित हुँदै गएको देखाउँछ।
धेरै औषधीय तथा सुगन्धित वनस्पतिहरू अझै पनि कच्चा वा अर्धप्रशोधित रूपमा निर्यात हुने गरेकोले पर्याप्त स्रोत आधार हुँदाहुँदै पनि नेपालले आफ्नो जडीबुटी स्रोतबाट सीमित मूल्य मात्र आर्जन गरिरहेको छ।
युननान चीनको चिनियाँ औषधीय सामग्रीको एक प्रमुख प्रान्त हो, जहाँ आठ हजार आठ सय ७५ प्रकारका चिनियाँ औषधीय स्रोतहरू छन्, जुन राष्ट्रिय कुल औषधिको आधाभन्दा बढी हो। यो मेला एक उत्पादन प्रदर्शनी र बिक्री कार्यक्रम मात्र होइन, ‘बेल्ट र रोड’ पहलमातहत सीमापार चिकित्सा सहयोग अभ्यासहरूको संयोजनसँगै दक्षिण एसिया र दक्षिणपूर्वी एसियाको ‘हेल्थ हब’ प्रदर्शनीमार्फत विश्वलाई थप सकारात्मक, खुला र व्यावहारिक सहयोगको संकेत पनि हो।
सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा चीनको भन्सार सामान्य प्रशासन र नेपालको कृषि मन्त्रालय बीच हस्ताक्षर गरिएको थियो। सुरुमा १५ प्रकारका नेपाली जडीबुटी औषधिहरू चीनमा निर्यातका लागि अनुमति दिइएकोमा यो संख्या निरन्तर बढिरहेको छ।



