एमाले आलोचित भइरहेको धनुषा-३ मा कसले मार्ला बाजी?

धैर्यकान्त दत्त ८ फागुन २०८२ २१:०५ | Friday, February 20, 2026
32
SHARES
एमाले आलोचित भइरहेको धनुषा-३ मा कसले मार्ला बाजी?

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको सहरी तथा ग्रामीण क्षेत्रका घर तथा सार्वजनिक स्थानका भित्ता र पर्खालहरू पर्चापम्पलेट टाँसिएर भरिभराउ छन्। उम्मेवारका पक्षमा प्रचारप्रसारका लागि साउन्ड बक्सजडित ई-रिक्सा र गाडीहरू गल्लीगल्लीमा हुइँकिरहेका छन्।

चोक र पसलका चियागफमा उम्मेदवार र चुनावको चर्चा उत्कर्षमा छ। मतदाताले आआफ्नै विश्लेषण र तर्कहरू प्रस्तुत गर्दै फागुन २१ गते हुने चुनावको नतिजा आकलन गरिरहेका छन्। कसैको बिहे-व्रतबन्ध जस्ता समारोहमा गफ पनि चुनाव केन्द्रित छन्। जनकपुरधाम र आसपासका क्षेत्रहरूमा यतिबेला यस्तै गतिविधि देखिन्छ।

मधेश प्रदेशको राजधानीसमेत भएकाले हरेकपटक जस्तै यसपालिको चुनावमा पनि जनकपुरधामलाई विशेष चासोका साथ हेरिएको छ। सुरुवाती समयमा ‘मौन’ बसेर अन्तिम समयमा मात्रै खुल्ने मतदाताको अभ्यासले जनकपुरधामबाट प्रतिनिधिसभा सदस्यमा को चुनिएला भन्ने आकलन गर्न सकिने अवस्था छैन।

राजनीतिक दल र स्वतन्त्र गरी तीन दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहे पनि यहाँ चर्चा भने नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको सुनिन्छ।

हरेक चुनावमा यो क्षेत्र चासोको विषय बन्ने गरेको छ। जनकपुरधाम अर्थात् धनुषा-३ मै राजनीतिक दलका चुनावीसभा, केन्द्रीय नेताहरूको दोडधुपलगायतका गतिविधि हुने गरेका छन्। यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि, एमालेकी जुलीकुमारी महतो, रास्वपाका मनिष झा र जसपा नेपालका परमेश्वर साह प्रतिस्पर्धामा उत्रिएका छन्।

कुनै समय कांग्रेसको ‘गढ’ को रूपमा चिनिएको धनुषा-३ मा पछिल्लो दुई निर्वाचनमा अन्य दलहरूले दबदबा कायम गरेका छन्। मधेश आन्दोलनलगत्तै २०७४ सालमा भएको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतो निर्वाचित भए। बाहिरी उम्मेदवारको नारा चले पनि मधेश आन्दोलनको रापतापमा भएको त्यो निर्वाचनमा महतोले कांग्रेसका निधिलाई पराजित गरे।

२०७९ सालमा भएको निर्वाचनमा गठबन्धनको भागबन्डामा यो क्षेत्र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हिस्सामा परेपछि कांग्रेसले आफ्नो उम्मेदवार खडा गरेन। कांग्रेसले त्यो चुनावमा लोसपाका अनिल झालाई समर्थन गर्‍यो। झालाई एमालेकी जुलीले पराजित गरेकी थिइन्।

पछिल्लो दुई निर्वाचनमा क्षेत्रविमुख भएको कांग्रेस यसपालि पुरानो ‘विरासत’ फर्काउने कसरतमा जुटेको छ। कांग्रेसका निधि ‘विशेष परिस्थिति’ मा भइरहेको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एमालेकी जुली यसपालि पनि जित दोहोर्‍याउने प्रयासमा छिन्। त्यस्तै देशभर चलेको ‘घन्टी चुनाव चिह्नको हावा’ को फाइदा उठाउँदै रास्वपाका झा पहिलो जितको खोजीमा छन्।

२०७९ सालको निर्वाचनमा धनुषा ३ (ख) बाट प्रदेशसभा सदस्यमा पराजित भएका जसपा नेपालका परमेश्वर प्रतिनिधिसभा सदस्यका लागि पहिलो जित निकाल्ने प्रयासमा जुटेका छन्। अन्य उम्मेदवारहरू पनि चुनावी मैदानमा रहे पनि धनुषा-३ मा यिनै उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ।

आकलन आआफ्नै

यस प्रतिस्पर्धाबीच अप्रत्याशित रूपमा एउटा नयाँ ‘फ्याक्टर’ थपिएको छ। त्यो हो रास्वपा। काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को ‘इन्ट्री’ पछि रास्वपाका उम्मेदवार र समर्थकहरू हौसिएका छन्। अघिल्लो निर्वाचनमा मधेशमा खासै प्रभाव देखाउन नसकेको रास्वपा ‘बालेन-प्रभाव’ को लाभ लिन खोजेको छ।

माघ ५ गते जनकपुरधामको सभामा मैथिली भाषामा सम्बोधन गरेर मधेशमा रास्वपाका पक्षमा एकखाले माहोल सिर्जना गर्न बालेन सफल भएका थिए। रास्वपाका उम्मेदवारहरूले त्यही प्रभावको फाइदा लिन खोजेको जानकारहरू बताउँछन्।

यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका रास्वपाका मनिषलाई भने जित निकाल्न ‘बालेन-इफेक्ट’ पर्याप्त देखिएको छैन। मतदाताहरू क्षेत्रको विकासका लागि नेताहरूले गरेको योगदानको लेखाजोखा निकालिरहेका छन्। यस्तो लेखाजोखामा मनिष पछाडि परेका छन्।

राजनीतिक विश्लेषक रोशन जनकपुरी काठमाडौँका पूर्वमेयर बालेनकै कारण रास्वपाका उम्मेदवारहरूलाई जित निकाल्न सहज नहुने बताउँछन्। उनका अनुसार मतदाताहरूले विकासलाई चुनावी मुद्दा बनाउन खोजेका छन्। यसअघि र भविष्यमा क्षेत्रको विकासका लागि काम गर्न सक्ने उम्मेदवारलाई निर्वाचित गराउने मनिस्थितिमा मतदाताहरू रहेको उनको भनाइ छ।

विश्लेषक जनकपुरी धनुषा-३ का मतदाताले खोजेअनुसार उम्मेदवारहरूले स्थानीय विकासलाई मुद्दा बनाएको पाइएको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय तहका विषयवस्तुलाई उम्मेदवारहरूले एजेन्डा बनाएको देखिन्छ। राष्ट्रिय मुद्दामा उम्मेदवारहरूले कमै बोलेका छन्।’

उम्मेदवारको व्यक्तिगत छवि मतदानका लागि मतदाताहरूको रोजाइ बन्ने जनकपुरीको भनाइ छ। ‘उम्मेदवारहरूले विगतमा गरेका कामलाई मतदाताहरूले मूल्यांकन गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले उम्मेदवारको व्यक्तिगत छविले बढी प्रभावित गर्ने देखिन्छ।’

धनुषा-३ मा पुराना दलहरू कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने जनकपुरीको विश्लेषण छ। उनी भन्छन्, ‘प्रमुख प्रतिस्पर्धा कांग्रेस र एमालेबीच देखिन्छ। अहिलेसम्मको वस्तुस्थिति हेर्ने हो भने यस क्षेत्रमा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएको छ।’

रास्वपाले समानुपातिकतर्फका मतलाई केही हदसम्म प्रभावित गरिरहे पनि प्रत्यक्षतर्फ खासै असर नगर्ने उनको भनाइ छ। ‘एकखाले हावा चलेको छ, त्यसकारण रास्वपाले समानुपातिकतर्फ केही मत प्रभावित गर्ने देखिन्छ। तर प्रत्यक्षतर्फ खासै फरक पारेको देखिँदैन,’ उनले भने।

विश्लेषक जनकपुरीले कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताए पनि स्थानीय मतदाताहरू कांग्रेस र रास्वापाबीच ‘टक्कर’ हुने देखिरहेका छन्।

चुनावका लागि निर्णायक ठानिएका यहाँका व्यापारी वर्ग एमाले उम्मेदवार जुली ‘रेस’ मा नरहेको बताउँछन्। अघिल्लोपटक जितेर गए पनि काम गर्न नसक्दा जुलीले मतदाताबाट आलोचित हुनुपरेको उनीहरूको भनाइ छ।

‘एमाले रेसमै देखिएको छैन। अघिल्लोपटक मतदाताहरूले जुलीलाई जिताएर पठाए तर काम भने केही गर्नसक्नु भएन,’ जनकपुरको जनकचोकका एक व्यवसायीले भने, ‘प्रतिस्पर्धा त कांग्रेस र रास्वपामै हुने हो। उम्मेदवारको हैसियत हेर्दा कांग्रेस नै उपयुक्त विकल्प देखिन्छ।’

कांग्रेसका निधि पनि क्षेत्रको विकासलाई मुद्दा बनाएर मैदानमा उत्रिएका छन्। उनले मतदातासामु विगतमा आफूले गरेका काम र आगामी दिनमा गर्ने कामका सूची प्रस्तुत गरिरहेका छन्। मतदाताहरूसँगको भेटमा उनी विकास र नागरिक अधिकारका मुद्दाबारे प्रस्ट पारिरहेको देखिन्छन्।

फागुन ६ गते जनकपुरधाममा चुनावीसभा गरेयता कांग्रेसको पक्षमा माहोल बनेको दाबी कांग्रेस नेताहरूको छ। यसपालि धनुषा-३ मा कांग्रेसकै उम्मेदवार निर्वाचित हुने निश्चित रहेको कांग्रेस नेता मनोज चौधरी बताउँछन्। अन्य चुनावको तुलनामा यसपालि कांग्रेस एकजुट रहेकाले पनि परिणाम तलमाथि नहुने उनको भनाइ छ।

यसअघि धेरै नेताहरूको परीक्षण भइसकेकाले जनकपुर क्षेत्रको विकासका लागि स्थानीय र राष्ट्रियस्तरमा पहुँच बनाएका नेतालाई रोज्नुपर्ने उनको भनाइ छ। २०७४ सालमा पराजित भएर अघिल्लोपटक समानुपातिक रोजेका निधिका पक्षमा एकखाले सहानुभूतिले पनि काम गरिरहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। कांग्रेस नेताहरूका अनुसार विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर अगाडि बढेको छ। अघिल्ला चुनावमा हुने गरेको अन्तर्घात पनि यसपालि नहुने दाबी उनीहरूले गरेका छन्।

चर्चा जातीय ‘फ्याक्टर’को 

धनुषा-३ मा दलीय एजेन्डा र विकासका मुद्दाहरू रहे पनि जातीय ‘फ्याक्टर’ ले पनि काम गर्ने गरेको छ। यस क्षेत्रमा व्यापार व्यवसायमा संलग्न वैश्य समुदाय तेली, सुँडी र कलबारलगायतका जातिको मतलाई यहाँ निर्णायका मानिन्छ। एमालेकी जुली र जसपा नेपालका परमेश्वर सुँडी समुदायका हुन्। सुँडी समुदायको मत यी दुई जनामा बाँडिने अनुमान धेरैको छ। त्यस्तै ब्राह्मण समुदायको मत कांग्रेसका निधि र रास्वपाका मनिषबीच बाँडिने तर्क पनि हुने गरेको छ।

यसपालिको चुनावमा जातीय ‘फ्याक्टर’ ले खासै प्रभाव नपार्ने तर्क यहाँका व्यापारीहरूले गर्ने गरेका छन्। ‘यसपालि जातीय कुराहरूले धेरै प्रभावित गर्ने जस्तो देखिँदैन, प्रतिकूल अवस्थाका कारण यो चुनाव भइरहेको हो,’ भानुचोकका एक व्यवसायी भन्छन्, ‘सधैँ अरूको जिम्मामा छोडेर मात्र हुँदैन, क्षेत्र जोगाउने कुरा पनि हो। त्यसैले जातपातभन्दा माथि उठेर सक्षम उम्मेदवारलाई मत पर्ने वातावरण देखिएको छ।’

एमालेले वामगठबन्धन गरेर चुनाव लडेको २०७४ सालको निर्वाचनमा माओवादीका रामसिंह यादवलाई समर्थन गरेको थियो। राजपाबाट महतो चुनाव लडेका थिए भने कांग्रेसका निधि मैदानमा थिए। त्यो चुनावमा वाम गठबन्धनका उम्मेदवार भए पनि एमालेले राजपाका महतोलाई आन्तरिक रुपमा सहयोग गरेको थियो।

राजपाका महतोले ३० हजार ७५० मत ल्याउँदा कांग्रेसका निधि २७ हजार ८४७ मत ल्याएर दोस्रो भएका थिए। मधेश आन्दोलनलगत्तै भएको त्यो निर्वाचनमा प्रमुख दलहरूविरूद्ध मतदाता देखिएका थिए। मधेश आन्दोलनको रापतापमा भएको निर्वाचनमा पनि केही मतको अन्तरले पराजित भएकोले यसपालि एकढिक्का रहेकाले नतिजा आफूहरूकै पक्षमा आउने दाबी कांग्रेस नेताहरूको छ।

२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नदिँदा पनि धनुषा ३ बाट समानुपातिकतर्फ कांग्रेसले उल्लेख्य मत प्राप्त गरेको थियो। समानुपातिकतर्फ कांग्रेसले २५ हजार १९५ मत ल्याउँदा एमालेको १७ हजार ८७४ मत थियो।

धनुषा-३ मा जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये १७ वडा र दक्षिणमा पर्ने धनौजी गाउँपालिका, नगराईन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ गरी कुल ३८ वडा पर्दछन्।

जनकपुरधाम उपमहानगरपालिकाका १७ वडाभित्र ६३ हजार ७६६ र धनौजी गाउँपालिकामा १४ हजार ७४२, नगराईन नगरपालिकामा २७ हजार २७४, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १७ हजार १९९ र विदेह नगरपालिकाको वडा नम्बर ९ का २ हजार ९४६ गरी कुल १ लाख २५ हजार ९२७ मतदाता छन्।

स्थानीय तहको चुनाव २०७९ मा जनकपुरधाम उपमहानगरपालिका, धनौजी गाउँपालिका र नगराईन नगरपालिकामा कांग्रेसले जितेको छ भने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपा नेपालको नेतृत्व रहेको छ।

प्रकाशित: ८ फागुन २०८२ २१:०५ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast