‘गरिब र विपन्न परिवारका बस्तीमा मात्रै डोजर नचलाइयोस्’

हिमाल प्रेस ८ भदौ २०८३ १५:५२ | Monday, August 24, 2026
‘गरिब र विपन्न परिवारका बस्तीमा मात्रै डोजर नचलाइयोस्’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानमा ‘सानालाई ऐन, ठूलालाई चयन’ हुने अवस्था आउन नहुने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलिरहेको बताउँदै हालसम्म ७ वटा पोखरी र ६५ वटा घर खाली गराइएको जानकारी गराए।

उनले अभियानका क्रममा गरिब तथा विपन्न परिवारका बस्तीमात्र हटाइने र पहुँच तथा शक्तिमा रहेकाहरूले बनाएका संरचना भने नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको बताए।

सांसद झाले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन स्मरण गर्दै जनकपुरधाममा करिब ९५० बिघा सार्वजनिक जग्गा अपचलन तथा अतिक्रमण भएको दाबी गरे।

संघीय सरकार र प्रधानमन्त्रीले जनकपुरको सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने विषयमा देखाएको चासोप्रति आभार व्यक्त गर्दै झाले अभियान कुनै वर्ग विशेषमाथि मात्र केन्द्रित हुन नहुनेमा ध्यानाकर्षण गराए।

सांसद झाले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न सबैमाथि समान व्यवहार गर्न सरकारसँग आग्रह गरे।

प्रकाशित: ८ भदौ २०८३ १५:५२ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast