काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना पुरा गर्न वर्तमान सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको समेत बताए।
उनले सरुवा–बढुवामा डिजिटल प्रणाली, राहदानी र लाइसेन्स घरमै पुर्याउने सेवा, भुमि प्रशासनको विस्तार तथा भूमिहीन परिवारलाई लालपूर्जा वितरण जस्ता सुशासनका सुधारहरू सुरु भएको उल्ल्ेख गरे। बिचौलिया र घुसखोरीको अन्त्य गर्दै नागरिकले बिना भनसुन र बिना घुस समयमै सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
पराजुलीले जोखिममा रहेका नागरिकको जीवन जोगाउने, प्रभावित परिवारलाई समयमै सहायता पु¥याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउने कार्यमा सरकार थप स्पष्ट हुनुपर्ने धारणा राखे। विपद्मा सरकार र प्रतिपक्ष नछुट्याई सबैले सहकार्य र रचनात्मक योगदान गर्नुपर्ने साझा दायित्व भएको उनको भनाइ छ।
उनले नेपालले विश्वमञ्चमा उठाएको जलवायु न्यायको आवाजलाई प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सहारा र समग्र पर्यावरण संरक्षणमा रूपान्तरण गरिनुपर्ने उल्लेख गरे। हिमालयको संरक्षणलाई केवल नेपालको भूगोलमा सीमित नराखी साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ।



