इटहरी- नेपाल पत्रकार महासंघ सुनसरीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले पत्रकारिताप्रति दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै साम्पाङले विगतदेखि नै समग्र पत्रकारितामाथि अपमानजनक अभिव्यक्ति दिँदै आएको भन्दै खेद व्यक्त गरेको हो।
धरानबाट सञ्चालित अनलाइन पोर्टल कपुरी न्यूज डटकमलाई जोडेर बारम्बार अपमानजनक टिप्पणी गर्नुका साथै पछिल्लो समय ‘पत्रकारिता नै सिध्याइदिन्छु’ भन्ने निन्दनीय धम्की दिएकोप्रति महासंघले घोर भर्त्सना गरेको जनाएको छ।
महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीद्वारा जारी विज्ञप्तिमा साम्पाङले यसअघि पनि धरानमा सक्रिय पत्रकारलाई लक्षित गर्दै छुद्र अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै यसले महासंघ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। साम्पाङकै कारण खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल विस्थापित हुनुपरेको दुःखद अनुभव रहेको भन्दै महासंघले पत्रकारिता क्षेत्रमा भएका यस्ता निकृष्ट व्यवहारको निन्दा गरेको छ।
महासंघले प्रतिनिधिसभा सदस्यजस्तो पदका उम्मेदवारबाट लोकतन्त्रको आधारस्तम्भ मानिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नु आपत्तिजनक भएको जनाएको छ। आलोचना र प्रश्न पत्रकारिताको धर्म भएको उल्लेख गर्दै आफ्नो विगत र वर्तमानबारे समाचार प्रकाशित भएकै कारण पेसागत सुरक्षामा चुनौती हुने गरी साम्पाङले दिने अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ।
यस्ता अलोकतान्त्रिक र अमर्यादित गतिविधि नसच्याए महासंघ सुनसरी थप आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। साथै निर्वाचनकै क्रममा दिइएको असंवैधानिक तथा अवाञ्छित अभिव्यक्तिको छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोग र प्रशासनसमक्ष महासंघले जोडदार माग गरेको छ।




