जिल्लास्तरीय शिक्षक कविता प्रतियोगितामा सरसको ‘प्रकृतिको मौन उपदेश’ प्रथम

हिमाल प्रेस २९ माघ २०८२ ११:२२ | Thursday, February 12, 2026
70
SHARES
जिल्लास्तरीय शिक्षक कविता प्रतियोगितामा सरसको ‘प्रकृतिको मौन उपदेश’ प्रथम

धादिङ- बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा सम्पन्न जिल्लास्तरीय शिक्षक खुला कविता प्रतियोगितामा सरस्वती पाण्डे (सरस) प्रथम भएकी छन्। शिक्षकहरूका साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले विशालटारस्थित गाउँ कार्यपालिकाको कार्यालय परिसरमा बुधबार आयोजित प्रतियोगितामा उनले ‘प्रकृतिको मौन उपदेश’ शीर्षकको कविता प्रस्तुत गर्दै निर्णायक मण्डल र दर्शकको मन जितेकी हुन्। प्रतियोगितामा प्रथम हुँदै पाण्डेले नगद रु २० हजारसहित प्रमाणपत्र प्राप्त गरिन्।

प्रमुख अतिथि कवि तथा सञ्चारकर्मी डा.नवराज लम्सालले उनलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। शिक्षणसँगै लेखन तथा सम्पादनमा सक्रिय पाण्डे डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनिबेँसीमा अध्यापनरत छिन्। पाण्डेको यो उपलब्धिले बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक तथा साहित्यिक अभियानलाई थप ऊर्जा दिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ‘बेचिन्छ नेपाल नै’ शीर्षकको कविता प्रस्तुत गर्दै रामकुमार रिमाल द्वितीय र ‘देशभित्रको मेरो देश’ शीर्षक प्रस्तुत गर्दै हिरालाल श्रेष्ठ तृतीय भए। उनीहरूले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरे। सुमित्रा खतिवडा, शिवहरि खनाल र दिग्गराज धौरालीले सान्त्वना पुरस्कार स्वरूप रु ५/५ हजार पाए।

जिल्लाभरिका विभिन्न विद्यालयमा कार्यरत ३० जना शिक्षकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले साहित्य र शिक्षाको समन्वयलाई बलियो बनाएको बताइएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को कविता संग्रह ‘मृत्यु टेकेर पलपल’ लोकार्पण गरिएको थियो। ३७ वटा कविता समेटिएको उक्त संग्रहको विमोचनले कार्यक्रमलाई थप साहित्यिक उचाइ प्रदान गरेको थियो।

प्रमुख अतिथि डा.लम्सालले शिक्षकका सशक्त सिर्जनात्मक अभिव्यक्तिले समाज रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने बताए। ‘शिक्षण पेसासँगै साहित्यिक चेतना विकास हुनु समाजका लागि शुभ संकेत हो,’ उनले भने।

प्रतियोगितामा नवराज पौडेल, डम्बरराज पन्त, गणेश तामाङ, सुमन खनाल, सरिता सुवेदी, सुमित्रा खतिवडा, रूपा पाण्डे, राजेन्द्र राना मगर, खिलप्रसाद रिजाल (बाबुराम), ज्ञानीमाया तामाङ, सनिता चेपाङ, पुरूषोत्तम त्रिपाठी, पवित्रा भट्ट, राजेन्द्र पाण्डे, वर्षा दनै, अजिता दाहाल (क्रान्ति), देवीबहादुर थाप, अनिता अधिकारी, ध्रुवप्रसाद दकाल, मन्दिरा सेढाइ, अस्मिता ढुंगाना, रोजिना ढकाल, रश्मिता रेग्मी, कृष्ण तामाङ डाकाटोपेलगायत शिक्षकहरूले कविता वाचन गरेका थिए।

कार्यक्रममा साहित्यकार डा.पुरु लम्साल, डा.रमेश शुभेच्छु, लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे (अटल), नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक डा.नवीन बन्धु दाहाल पहाडी, गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेललगायतको उपस्थिति रहेको थियो।

‘सम्बुद्ध, समावेशी र सुखी बेनीघाट रोराङ’ निर्माणका लागि कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन र पूर्वाधारलाई आधारस्तम्भका रूपमा अघि बढाइएको गाउँपालिकाको नीतिसँग यस्ता कार्यक्रमहरू प्रत्यक्ष रूपमा जोडिएका छन्। शिक्षामा सुधारलाई प्रगतिका मुख्य आधारका रूपमा लिएको गाउँपालिकाले शिक्षकको बौद्धिक र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ ११:२२ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast