स्वदेश फिर्ता भए राष्ट्रपति पौडेल

हिमाल प्रेस २१ माघ २०८२ १८:३३ | Wednesday, February 4, 2026
18
SHARES
स्वदेश फिर्ता भए राष्ट्रपति पौडेल तस्बिरहरूः रासस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए। उनले सो समारोहलाई सम्बोधन गरेका थिए।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए। उनीसँग जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उनले सम्बोधन गरेका थिए। उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।

प्रकाशित: २१ माघ २०८२ १८:३३ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast