पोखरा- पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ।
पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा सिर्जना बडुवाल र प्रजिता राईले १–१ गोल गरे।
सिर्जनाले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन्। प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।
भुटानले ८७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतविरुद्ध २-० को जित निकाल्दै साविक विजेता बंगलादेश साफ यू-१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले १-१ गोल गरे।
खेलको २९ औँ मिनेटमा अर्पिताको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। ४० औँ मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन्। लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ। पहिलो पराजय व्यहोरेको भारतको समान खेलबाट ३ अंक छ।
नेपालले लिग चरणमा आफ्नो अन्तिम खेल बुधबार दिउँसो ३ बजे बंगलादेशसँग खेल्नेछ। दुई हारसँगै उपाधि होडबाट बाहिरिएको भुटानले बुधबारको भारतको सामना गर्नेछ।
नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ देशले भाग लिएको च्याम्पियनमा लिग चरणको नतिजापछि शीर्ष २ टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।



