काठमाडौँ– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई बिहीबार मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे।
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए।
उनले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए। कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे।
जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगावँ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ। नेपाली महिला फुटबल टोली शुक्रबार भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।




