यस्ता मुद्दा बोकेर ललितपुर-२ मा महर्जन चुनावी मैदानमा

हिमाल प्रेस १८ माघ २०८२ १०:५३
116
SHARES
यस्ता मुद्दा बोकेर ललितपुर-२ मा महर्जन चुनावी मैदानमा

ललितपुर- आशन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर निर्वाचन क्षेत्र नं.२ मा चुनावी सरगर्मी बढ्दै गएको छ।

नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार कम्प्युटर इन्जिनियर कृष्ण महर्जनले युवा, रोजगारी र सम्पदा संरक्षणलाई केन्द्रमा राख्दै चुनावी अभियान तीव्र पारेका छन्।

महर्जन यस निर्वाचन क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्। आफू युवा प्रतिनिधित्व भएको दाबी गर्दै उनले युवाका वास्तविक मुद्दा संसद्‌मा उठाउने प्रतिबद्धता जनाएका छन्।

‘युवालाई स्वदेशमै रोजगारी, विशेषगरी सूचना प्रविधि (आइटी) क्षेत्रमा अवसर सिर्जना गर्न सकिने सम्भावना धेरै छ,’ उनी भन्छन्, ‘निर्वाचन जितेर संसद् पुगेपछि युवाको रोजगारी, आइटी क्षेत्रको विस्तार, सांस्कृतिक सम्पदाको संरक्षणजस्ता विषयमा सशक्त आवाज उठाउँछु र आवश्यक कानुन निर्माणमा पहल गर्छु।’

महर्जनले अपांगता क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउँदै अपांगता भएका व्यक्तिहरूका अधिकार र अवसर विस्तारका लागि पनि संसद्‌मा मजबुत भूमिका खेल्ने बताएका छन्।

‘उहाँहरूका समस्या, पहुँच र अवसरका विषयमा कानुनी सुधार आवश्यक छ। त्यसका लागि संसद्‌भित्रबाटै पहल गर्छु,’ उनको भनाइ छ।

नेवार समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा आफ्नो समुदायको ठूलो मत प्राप्त हुनेमा महर्जन विश्वस्त देखिन्छन्। हाल उनी घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।

ई.महर्जनको चुनावी अभियानको कमान्डरको जिम्मेवारी रोशन पोखरेललाई दिइएको छ भने सह-कमान्डरको भूमिकामा सुजन राजथलाली छन्। पोखरेल २०७४ सालको निर्वाचनमा गोरखा-२ बाट डा.बाबुराम भट्टराईलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन्।

चुनाव चिह्न ‘आँखा’ रहेको प्रलोपाले ललितपुर-२ मा नयाँ विकल्प र युवा नेतृत्वको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

प्रकाशित: १८ माघ २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast