२४ घण्टामा १२ ठाउँमा आगलागी, तीन महिला घाइते

हिमाल प्रेस १८ माघ २०८२ ८:२६
8
SHARES
२४ घण्टामा १२ ठाउँमा आगलागी, तीन महिला घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताइन्। विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ।

पछिल्लो २४ घण्टाको अवस्था हेर्दा असावधानीका कारण आगो लाग्दा तीन जना घाइते भएका महतले उल्लेख गरिन्। प्राधिकरणका अनुसार झापा, मोरङ, धनकुटा, सोलुखुम्बू, खोटाङ, सर्लाही, बारा, कपिलवस्तु, कैलालीमा आगलागीका घटना भएका छन् भने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ।

प्राधिकरणबाट प्राप्त २४ घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेट भन्दा तल्लो भागमा जली घाइते भएकी छिन्। शरीरको ३० प्रतिशत भाग जलेकी निजको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ।

ती आगलागीबाट आठ वटा पशुचौपाय क्षति भएका छन् भने ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिइन् । मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन्। अछाममा जनावरको आक्रमणबाट एक जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। रासस

प्रकाशित: १८ माघ २०८२ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast