काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने भएको छ।
शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनका लागि केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए।
उनले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए।
लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने धारणा राखे। प्रवक्ता चालिसेले निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने जानकारी दिए।
घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने उनको भनाइ छ। हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले देशभरका जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै चालिसेले स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने उल्लेख गरे।
पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ। प्रवक्ता चालिसेले कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएकाले नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्ने बताए।



