पोखरामा साफ यू-१९ महिला च्याम्पियनसिप

हिमाल प्रेस १५ माघ २०८२ १९:०५ | Thursday, January 29, 2026
12
SHARES
पोखरामा साफ यू-१९ महिला च्याम्पियनसिप

कास्की- पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ(साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ।

साफको तालिका अनुसार पोखरा रंगशालास्थित अन्तर्राष्ट्रिय फुटबल रंगशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहने छ। साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए।

‘साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौँ बाहिर सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलगायत यहाँ आइपुग्नुहुन्छ,’ महासचिव कट्टेलले भने। सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ। यसम प्रत्येक टोलीले अन्य टोलीसँग एक-एक खेल खेल्नेछ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए। प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास लिइएको उनले बताए।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत काम सम्पन्न भएको जानकारी दिए। लामो प्रतिक्षापछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित बनेका उनले बताए। प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख खर्च हुने आयोजकले जनाएको छ। रासस

प्रकाशित: १५ माघ २०८२ १९:०५ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast