गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सुझाव प्रतिवेदन मन्त्री सिन्हालाई बुझाइयो

हिमाल प्रेस १५ माघ २०८२ १६:४१
36
SHARES
गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सुझाव प्रतिवेदन मन्त्री सिन्हालाई बुझाइयो

काठमाडौँ- गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेस गरिएको छ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको नेतृत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले तयार गरेको १३ पृष्ठको प्रतिवेदन बुधबार मन्त्री सिन्हालाई बुझाइएको हो।

प्रतिवेदनमा उच्च व्यावसायिक सम्भावना रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा सरकारको प्रयास केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ।

कार्यदलले उद्योगको स्थिर सम्पत्ति (भवन, जग्गा जमिन) यथावत् राखी साबिककै प्रकृतिको तर आधुनिक प्रविधिमा आधारित उद्योग गोरखकाली ट्रेडमार्कसहित पुनः सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएको छ।

हाल कारखानामा परम्परागत प्रविधिबाट टायर उत्पादन गर्ने पुराना मेसिन रहेकाले ती पूर्ण रूपमा विस्थापित गरी नयाँ प्रविधियुक्त मेसिन जडान गर्नुपर्ने सिफारिस प्रतिवेदनमा उल्लेख छ।

उद्योग पुनः सञ्चालनका लागि सरकारको पहलमा पुँजी र प्रविधिसहितको रणनीतिक लगानीकर्ता खोजी गरी सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा उद्योगको विद्यमान अवस्थाबारे यकिन गर्न ड्यू डिलिजेन्स अडिट (डीडीए) र व्यावसायिक सम्भाव्यता अध्ययन गरी सम्पूर्ण दायित्व फरफारकपछि पीपीपी मोडालिटीमा रबर उद्योग क्षेत्रमा अनुभव भएको रणनीतिक साझेदार खोज्न सुझाव दिइएको छ।

रणनीतिक साझेदारका रूपमा वैदेशिक लगानी आकर्षित गर्न उद्योगलाई आकर्षक परियोजनाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै प्रमुख लगानीकर्ता रणनीतिक साझेदार रहने र निजी क्षेत्र, पुराना सेयरधनी तथा सर्वसाधारणको लगानी सहभागिता पनि सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ।

सार्वजनिक संस्थानमा सरकारी लगानी व्यवस्थापन गर्दा जग्गाको स्वामित्व नेपाल सरकारमै कायम राख्ने नीतिअनुसार सरकारले जग्गा दीर्घकालीन लिजमा उपलब्ध गराउने व्यवस्था गर्न सकिने उल्लेख छ।

कार्यदलले यसअघि पेस भएका विभिन्न अध्ययन प्रतिवेदनको अध्ययन गर्नुका साथै स्थलगत अवलोकनसमेत गरेको जनाएको छ।

सरकारी नीति तथा निजी क्षेत्रको प्राथमिकतामा पर्ने उद्योग भएको, आन्तरिक तथा बाह्य बजारको प्रचुर सम्भावना रहेको, स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सकिने अवस्था रहेको र प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना हुने भएकाले उद्योग पुनः सञ्चालन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

गोरखा नगरपालिका-१३ मजुवा देउरालीमा अवस्थित गोरखकाली रबर उद्योगले २०४९ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। वार्षिक ८० हजार ट्रक टायर र ४० हजार ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको यस उद्योगको स्वामित्वमा ६६२ रोपनी १४ आना जग्गा छ।

पहाडी कच्ची सडकका लागि उपयुक्त टायरको पर्याप्त माग हुँदाहुँदै पनि उत्पादन लागत वृद्धि, नगद प्रवाह कमजोर हुनु, नेटवर्थ ऋणात्मक हुनु, अधिकांश वर्ष लक्षित क्षमताको २० प्रतिशतभन्दा कम उत्पादन हुनु र प्रविधिगत परिवर्तनजस्ता कारणले उद्योग निरन्तर घाटामा जान थाल्यो। सोही कारण २०७२ सालदेखि उद्योग पूर्णरूपमा बन्द भएको थियो।

उद्योग बन्द भएपछि पुनः सञ्चालनका लागि विभिन्न प्रयास भए पनि सफल हुन नसकेपछि नेपाल सरकारले २०७५ माघ ३ गतेको निर्णयअनुसार २३२ जना कर्मचारी तथा कामदारलाई सेवा सुविधासहित अवकाश दिएको थियो।

हाल उद्योगको व्यवस्थापकीय जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्हाल्दै आएको छ।

प्रकाशित: १५ माघ २०८२ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast