काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।
त्यसपछि थापाले बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको समर्थनसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
एमाले र नेकपाबीच भएको नयाँ सत्ता समीकरणको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको हो।
नवनियुक्त मुख्यमन्त्री थापाको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम पनि बिहीबार नै प्रदेश प्रमुखको कार्यालयमा तय गरिएको छ।


