फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

हिमाल प्रेस २९ भदौ २०८३ २१:३२ | Monday, September 14, 2026
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

काठमाडौँ- फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ।

राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए।

यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो।

म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन्। उनले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने अपेक्षा व्यक्त गरेका छन्।

फ्रान्सको संवैधानिक परिषद्ले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधारसहित नयाँ मस्यौदा अघि बढाएको हो।

म्याक्रोनले युरोपेली संघ (ईयू) का अन्य सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने समान व्यवस्था लागू गर्न आग्रह गर्दै आएका छन्।

नयाँ प्रस्ताव युरोपेली संघ (ईयू) को कानूनअनुकूल भए–नभएको सुनिश्चित गर्न आयोगलाई जानकारी गराइएको हो।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यसै साता ब्रसेल्समा हुने सम्बोधनमा बालबालिकाका लागि युरोपेली संघ भर सामाजिक सञ्जालमा सम्भावित प्रतिबन्धबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे चिन्ता बढिरहेका बेला विभिन्न देशले यसको पहुँच सीमित गर्ने कदम चालिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast