२१०८ सालसम्म नेपालको जनसंख्या तीन करोड ३५ लाख पुग्ने अनुमान

हिमाल प्रेस २९ भदौ २०८३ २१:३६ | Monday, September 14, 2026
२१०८ सालसम्म नेपालको जनसंख्या तीन करोड ३५ लाख पुग्ने अनुमान

काठमाडौँ- घट्दो प्रजननदरका कारण नेपालको जनसंख्या वृद्धिदर निरन्तर सुस्त भइरहेका बेला २१०८ सालसम्म नेपालको जनसंख्या तीन करोड ३५ लाख पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ मा नेपालको जनसंख्या दुई करोड ९४ लाख रहेकामा २१०८ सम्म बढेर तीन करोड ३५ लाख पुग्ने प्रक्षेपण गरिएको हो।

एनएसओले यही महिनाको थालनीमा सार्वजनिक गरेको ‘नेपाल इन फिगर्स २०२६’ अनुसार २१०८ मा अनुमान गरिएको तफीन करोड ३५ लाख जनसंख्या २०७८ को तुलनामा करिब ४१ लाख अर्थात् झन्डै १४ प्रतिशतले बढी हो।

नेपालको जनसंख्या वृद्धिदर भने निरन्तर घटिरहेको छ। २००९/११ सालको जनगणनामा नेपालको जनसंख्या ८२ लाख ५० हजार हुँदा वृद्धिदर २.२७ प्रतिशत थियो। यो दर २०२८ मा २.०५ प्रतिशत, २०३८ मा २.६२ प्रतिशत, २०४८ मा २.०८ प्रतिशत र २०५८ मा २.२५ प्रतिशत थियो। २०६८ मा जनसंख्या वृद्धिदर घटेर १.३५ प्रतिशतमा झरेकोमा २०७८ मा थप घटेर ०.९२ प्रतिशत पुगेको थियो।

जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या २००९/११ मा ८२ लाख ५० हजारबाट बढेर २०७८ मा दुई करोड ९४ लाख पुगेको थियो। २०७८ को जनगणनाले ६७ लाख परिवार रहेको देखाएको थियो भने दुई जनगणनाबीचको अवधिमा जनसंख्या २७ लाखले बढेको थियो।

कार्यालयको प्रक्षेपणअनुसार आगामी दशकमा नेपालको जनसंख्या वृद्धिदर सामान्य रहनेछ। कुल जनसंख्या २०७८ मा दुई करोड ९४ लाखबाट बढेर २०८३ मा तीन करोड, २०८८ मा तीन करोड ६ लाख, २०९३ मा तीन करोड १३ लाख, २०९८ मा तीन करोड २१ लाख, २१०३ मा तीन करोड २८ लाख र २१०८ मा तीन करोड ३५ लाख पुग्ने अनुमान गरिएको छ।

जनसंख्या वृद्धिदर सुस्त हुनु घट्दो प्रजननदर (एक महिलाले आफ्नो जीवनकालमा जन्माउने औसत सन्तान संख्या) सँग नजिकबाट जोडिएको छ। एनएसओका अनुसार कुल प्रजननदर २०७८ मा प्रतिमहिला १.९३ सन्तान रहेकामा २०८३ मा १.९०, २०८८ मा १.८७, २०९३ मा १.८३, २०९८ मा १.७९, २१०३ मा १.७५ र २१०८ मा १.७१ मा झर्ने प्रक्षेपण गरिएको छ।

महिलाको जनसंख्या भने २०७८ मा एक करोड ५० लाखबाट बढेर २१०८ सम्म एक करोड ७३ लाख पुग्ने अनुमान गरिएको छ।

यसैगरी आफ्नो नियमित परिवारबाहिर बस्ने मानिसको संख्या पनि बढ्ने प्रक्षेपण गरिएको छ। यस्तो जनसंख्या २०७८ मा १८ लाख २० हजार रहेकामा २१०८ सम्म २५ लाख ७० हजार पुग्ने अनुमान छ। यो संख्या २०८८ मा सबैभन्दा बढी ३४ लाख १० हजार पुग्ने र त्यसपछि क्रमशः घट्दै २०९३ मा ३३ लाख १० हजार, २०९८ मा ३३ लाख १० हजार, २१०३ मा २९ लाख ४० हजार र २१०८ मा २५ लाख ७० हजारमा झर्ने प्रक्षेपण गरिएको छ।

प्रकाशित: २९ भदौ २०८३ २१:३६ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast