नेकपा एमालेको केन्द्रीय कार्यालय।
काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसंगठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन्।
एमालेको केन्द्रीय कार्यालयमा शुक्रबार भएको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने बताएका हुन्।
संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उनको भनाइ थियो।
बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ। पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलले बताए।
बैठकमा पार्टीका सचिव एवं संगठन विभागका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्ने बताए।



