काठमाडौँ- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई हिरासतमा लिएको दाबी गरेका हुन्।
ट्रम्पको यो भनाइ भेनेजुएलाको राजधानी काराकसमा भएको शृंखलाबद्ध आक्रमणपछि आएको हो।
यो घटनालाई ल्याटिन अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य र राजनीतिक परिवर्तनको रूपमा हेरिएको छ। ट्रम्पले आधिकारिक वक्तव्य जारी गर्दै अमेरिकी सुरक्षा बलले एक विशेष अभियानअन्तर्गत भेनेजुएलाका ‘विवादित’ राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको जनाएका छन्।
यसअघि शनिबार भेनेजुएलाको राजधानी काराकसमा शृंखलाबद्ध विस्फोटहरू भएका थिए। अमेरिका र भेनेजुएलाबीचको तनावले युद्धको रूप लिन थालेको छ। भेनेजुएलाको राजधानी काराकासका विभिन्न सैन्यस्थलहरूमा शृंखलाबद्ध विस्फोट भएपछि राष्ट्रपति निकोलस मादुरोले देशभर संकटकाल घोषणा गरेका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार काराकासको केन्द्रमा रहेको ‘ला कार्लोटा’ सैन्य विमानस्थल र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’ मा शक्तिशाली विस्फोट भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सैन्य क्षेत्रबाट धुँवाको मुस्लो निस्किएको र आकाशमा विमानहरू उडिरहेको देखिएको छ।
ट्रम्प प्रशासनका अधिकारीहरूले काराकासमा भएका विस्फोट र विमानहरूको उडानबारे जानकारी पाएको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि लागुऔषध तस्करी र अपराध फैलाएको आरोप लगाउँदै केही हप्तादेखि दबाब बढाउँदै आएका थिए।
विस्फोटपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति मादुरोले यसलाई ‘साम्राज्यवादी आक्रमण’ को संज्ञा दिएका छन्। भेनेजुएलाको तेल र खनिज स्रोतमाथि कब्जा गर्ने प्रयासस्वरूप अमेरिकाले आक्रमण गरेको उनले बताएका छन्। मादुरोले देशको राजनीतिक स्वतन्त्रतालाई तोड्न खोजिएको आरोप लगाएका छन्।
उनले राष्ट्रिय रक्षा योजनाहरू तत्काल लागू गर्न र सामाजिक तथा राजनीतिक शक्तिहरूलाई एकजुट आह्वान गरेका छन्।
भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य आक्रमकताको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायसामु अमेरिकाको यो कदम सैन्य हस्तक्षेप भएको बताएको छ।



