कांग्रेस-एमालेलाई ‘घण्टीको झड्का’, गर्लान् त चुनावी गठबन्धन?

किरण पौडेल १६ पुष २०८२ २१:३२
50
SHARES
कांग्रेस-एमालेलाई ‘घण्टीको झड्का’, गर्लान् त चुनावी गठबन्धन? कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङ र बालेन्द्र शाह ‘बालेन’ समाहित भएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूमा बेचैनी बढेको छ। एमालेका शीर्ष नेताहरूले रवि लामिछाने, घिसिङ र बालेनको एकताप्रति कटाक्ष गरेका छन्। केही नेताले खुलेरै रवि, बालेन र कुलमान एकताको विरोध गरेका छन् भने केहीले यसलाई विदेशबाट परिचालित भनेर टिप्पणी गरेका छन्।

ऊर्जामन्त्री घिसिङको उज्यालो नेपाल पार्टी, काठमाडौँ महानगरपालिकाका मेयर बालेनसहितका नेता अब रास्वपाकै घण्टी चिह्न लिएर चुनाव लड्ने निश्चित भएको छ। रास्वपाले बालेनलाई भाबी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कागजी सहमति गरिसकेको छ।

वैकल्पिक वा नयाँ शक्तिबीच एकीकरणको कांग्रेस-एमालेलगायत पुराना दलमा ‘भूकम्प’ पैदा भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेभित्र आगामी राजनीतिक बाटो अन्योल र सकस रहेको विश्लेषण हुँदै छ।

दुवै दलले आगामी फागुनमै प्रतिनिधिसभा निर्वाचनको कल्पना गरेका थिएनन्। ‘मिसन ०८४’ भन्दै २०८४ को चुनावको तयारीमा रहेका उनीहरूले अकस्मात दुई वर्षअघि नै चुनावको सामना गर्नुपर्ने भएको छ। कांग्रेस-एमाले नेतृत्वको अघिल्लो सरकमार गत भदौ २३ र २४ को जेनजी आन्दोलनले पल्टाइदिएको थियो।

आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्न बाध्य भए। कांग्रेस सभापति शेरबहादुर देउवामाथि आक्रमण भयो। अधिकांश नेताको निजी सम्पत्तिमा आजगनी गरियो। यस्तो अवस्थामा दुवै दलसँग जनतासामु लैजाने ठोस एजेन्डा नभएको जानकारहरू बताउँछन्।

वैकल्पिक भनिएका शक्ति एकजुट भएपछि कांग्रेस-एमालेमा नेताहरूमा झड्का लागेको छ। दुवै दलका नेताहरू भाबी रणनीतिबारे छलफलमा जुटेका छन्। केही नेताहरूचाहिँ खुला रूपमै कांग्रेस र एमालेबीच चुनावी गठबन्धन गर्नुपर्ने प्रस्ताव गर्न थालेका छन्।

गत मंगलबार नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले मदन-आश्रित स्मृति प्रतिष्ठानले गरेको विचार गोष्ठीमा बोल्दै कांग्रेस र एमाले चुनावमा मिलेर जानुपर्ने बताएका थिए।

लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको उनको भनाइ थियो। उनले अब पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्ने बताएका थिए।

‘कि नयाँ संसद्मा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद् पुनस्र्थापना गरेर हामी फेरि लोकतन्त्र स्थापित गर्न सक्छौँ,’ उनले भने। एमाले उपाध्यक्ष बादल अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयताका नेता हुन्।

जानकारहरू भने नयाँ शक्तिको सक्रियता कांग्रेस-एमालेका लागि चुनौती रहेको बताउँछन्। त्यसैले पनि कांग्रेस-एमाले गठबन्धन हुन सक्ने आकलन उनीहरूको छ। ‘कांग्रेस-एमाले गठबन्धन गर्ने-नगर्ने उनीहरूमै निर्भर हुने कुरा हो। नयाँ दलको चुनौती ठूला दलमा कत्ति पर्छ भन्नेमा निर्भर हुन्छ’, राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘कांग्रेस-एमालेले चुनौती अनुभव गरे भने चुनावमा गठबन्धन हुन सक्छ।’

एमालेका ओली निकटस्थ नेताहरू गठबन्धन गर्न सकिने पक्षमा छन्। ओली निकटस्थ मानिने नेता शेरबहादुर तामाङले गठबन्धन गरेर जानुपर्ने आशय व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हान्दिऊँ ! ८३÷८२ जे पर्ला पर्ला।’

नेताहरूका अनुसार प्रत्यक्षतर्फ देशभरका १६५ सिटमध्ये आधाआधा बाँडेर जानुपर्ने तर्क एमालेभित्र उठेको छ। ‘लोकतन्त्र संकटमा परेको बेला एउटा विकल्प त्यो पनि हो भन्ने आशयबाट कुराहरू आएका हुन्। यही नै लाइन हो भन्ने होइन,’ एमाले सचिव भानुभक्त ढकालले हिमालप्रेससँग भने, ‘देश र लोकतन्त्र बचाउने शक्ति भनेका कांग्रेस-एमाले नै हुन्। यी शक्ति एक ठाउँ हुनुपर्छ भन्ने हो। भदौ २४ पछि देशमा जे स्थिति आयो। यसका कारण पनि एकजुट हुनुपर्ने हो कि भन्ने हो।’

ढकाल अहिल्यै एमाले-कांग्रेस नडराएको दाबी गर्छन्। ‘हामी डराएर गठबन्धन गरौँ भनिरहेका छैनौँ। लोकतन्त्र र देशलाई जोगाउने सन्दर्भमा गठबन्धन गर्न सकिन्छ कि भन्ने हो’, उनले भने।

कांग्रेसमा पनि थरीथरी तर्क

भदौ २३ मा जेनजी आन्दोलन हुनुअघि कांग्रेस-एमालेकै सरकार थियो। ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सम्झौता थियो। जेनजी आन्दोलनका कारण गठबन्धन टुट्यो। मुखैमा आउन लागेको प्रधानमन्त्री पद देउवाले पाएनन्। ‘लोकतन्त्र र देश बचाउने’ एजेन्डा राखे पनि पार्टीभित्र एकरूपता छैन। एमालेमा जसरी गठबन्धनको विरोध भइरहेको छ, कांग्रेसमा पनि उस्तै विवाद छ।

‘हामी गठबन्धन गर्ने पक्षमा छैनौँ। तर सँगसँगै जानुपर्छ भन्ने हो,’ कांग्रेस नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘निर्वाचनमा दुवै पार्टीमा सद्भाव राखेर जान सकिन्छ, संविधान बचाउन सहकार्य गर्न सकिन्छ। गठबन्धन नै गर्न चाहिँ गाह्रो हुन्छ।’

विश्वकर्माका अनुुसार कांग्रेस-एमाले गठबन्धन भए आधाआधा सिट बाँडफाँट गर्नुपर्छ। दुवै बराबर हैसियतका शक्ति भएकाले आधा सिट दुवैले गुमाउनेपर्ने तर्क विश्वकर्माको छ।

१६५ सिटमा ८० सिट एमालेलाई दिँदा कांग्रेसको भागमा आधा मात्र पर्छ। त्यो हुनु भनेको देशभरमा आधा भागमा कांग्रेस नहुनु हो। आधार एमाले नहुनु हो’, विश्वकर्मा थप्छन्, ‘विगतमा जस्तो अस्वस्थ प्रतिस्पर्धा नगरी एमालेसँग अघि बढ्न सकिन्छ। तर एकअर्काको चुनाव चिह्नमै मत हाल्न बाध्य पार्नुचाहिँ हुन्न।’

कांग्रेसले गठबन्धनको शृंखला सुरु गर्न लागेको यो पहिलोपल्ट होइन। २०७९ सालको आमनिर्वाचनमा कांग्रेसले माओवादीसहितका चार दलसँग गठबन्धन गरेको थियो। कांग्रेस नेताहरूका अनुसार गठबन्धन कांग्रेसलाई फलिफाप भएन। कांग्रेस नेताहरूले निर्वाचनपूर्व गठबन्धन गर्न नहुने कुरा विधानमै राख्न प्रस्ताव गरेका थिए।

यद्यपिमा एमालेसँगको गठबन्धनका विषयमा कांग्रेस नेताहरूका थरीथरीका तर्क छन्। ‘देश बचाउन र लोकतन्त्रको जगेर्ना गर्न पनि कांग्रेस-एमाले गठबन्धन गर्नुपर्छ कि भन्ने लागेको हो,’ कांग्रेस नेता रामहरि खतिवडा भन्छन्, ‘राष्ट्रलाई हित हुने कुरामा हामी जोसुकैसँग पनि गठबन्धन गर्न सक्नुपर्छ। एमालेसँग मात्र होइन, अन्य शक्तिसँग पनि मिल्न तयार हुनुपर्छ।’

कांग्रेस-एमालेले आधिकारिक रूपमा गठबन्धन गर्नेनगर्ने निर्णय लिएका छैनन्। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सम्बन्ध सुमधुर रहेकाले गठबन्धन हुने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन्।

गठबन्धनको चर्चा चले पनि एमाले अध्यक्ष ओलीले आफ्नो दल बलियो रहेको दाबी गर्न छाडेका छैनन्। मंगलबारको एक कार्यक्रममा ओलीले आगामी निर्वाचनपछि पनि ‘एमाले-कांग्रेसबाहेक अरूले सरकार बनाउन सम्भव नरहेको’ तर्क गरे।

उनले वैकल्पिक शक्तिले ‘प्रधानमन्त्री पद बाँड्ने काम’ हास्यास्पद भएको दाबी गरे।

राजनीतिक विश्लेषक पोखरेल कांग्रेस-एमालेको गठबन्धनको विषय नयाँ दलको आगामी रणनीतिमा भर पर्ने बताउँछन्। ‘अहिले रविलाई राज्यले दुःख दियो भन्ने जनमानसले बुझेका छन्, बालेनलाई युवाहरूको समर्थन छ भने कुलमानलाई गृहणीहरूले पत्याएका छन्,’ पोखरेल भन्छन्, ‘यस्तो अवस्थामा कांग्रेस-एमाले हैसियत नगुमाउने पाटोमा सोच्छन्। वैकल्पिकको तरंगको प्रभावअनुसार उनीहरू चल्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast